नेपालगञ्जदेखि सुर्खेत जोड्ने रत्न राजमार्गलाई व्यवस्थित बनाईंदै

सदरलाइन संवाददाता ४ बैशाख २०८०, सोमबार १३:४९
 

नेपालगञ्ज : रत्न राजमार्गको नेपालगञ्जदेखि सुर्खेत वीरेन्द्रनगर उपत्यका जोड्ने प्रमुख राजमार्गलाई व्यवस्थित बनाइने भएको छ । सञ्चालनमा आएको लामो समय भइसक्दा पनि यो सडकको स्तरोन्नति हुन सकिरहेको थिएन । कोहलपुर–वीरेन्द्रनगरसम्म ११५ किलोमिटर र कोहलपुर–नेपालगञ्ज २५ किलोमिटर रहेको यो सडकका विभिन्न भाग जीर्ण छन् । जसका कारण सडक दुर्घटनाको जोखिम बढेको थियो ।

तर, सुर्खेततर्फको हर्रे–बांगेसिमलसम्मको सडकको भने स्तरोन्नति र खाल्डाखुल्डी पुर्ने काम धमाधम भइरहेको छ । केही समय अघिसम्म वीरेन्द्रनगर बजार क्षेत्रमै सडकको अवस्था निकै कुरूप थियो । खाल्डाखुल्डी, धुलोले सवारी साधन मात्र होइन, पैदल यात्रुलाई समेत यात्रा गर्न सकस हुन्थ्यो ।

पछिल्लो समय अधिकांश ठाउँमा खाल्डाखुल्डी पुर्ने काम भइसकेको र बाँकी ठाउँमा पनि मर्मत सम्भारको काम जारी रहेको सडक डिभिजन कार्यालय सुब्बाकुनाले जनाएको छ । यस्तै, बजार क्षेत्रमा पर्ने मुख्य पुलहरूको निर्माण पनि सम्पन्न भएको छ । कतिपय ठाउँमा निर्माणका काम जारी छन् ।


यो राजमार्ग हर्रे–सुब्बाकुनासम्म ‘टु लेन’ र सुब्बाकुना–बांगेसिमल बजार क्षेत्र ‘फोर लेन’को छ । झण्डै १० किलोमिटर लम्बाई रहेको सुब्बाकुनादेखि एरिचोकसम्मको सडकलाई थप व्यवस्थित गर्न सडक डिभिजन लागेको छ । अहिले अधिकांश खाल्डाखुल्डी टालिसकिएको अवस्था छ भने सडक किनारालाई थप व्यवस्थित गर्ने, नालाहरूको स्तरोन्नति गर्ने काम धमाधम भइरहेको हो ।

घुलियाबिटदेखि एरिचोकसम्म ६ किमिमा ‘एचब्रेक’ भएको ठाउँलाई व्यवस्थित गर्न लागिएको सडक डिभिजन कार्यालय, सुर्खेतले जनाएको छ । त्यसका लागि २ करोड २२ लाख बजेट छुट्याइएको छ । जीर्ण अवस्थाको सडकमा खाल्डाखुल्डी पुरेर नयाँ कालोपत्रे हालेसँगै सडकले नयाँ स्वरूप पाएको यातायात व्यवसायीले बताएका छन् ।

मर्मत सम्भारको कार्ययोजना अनुरूप हर्रेबाट काम शुरु भइसकेको छ । साथै ‘टु लेन’ अन्तर्गत टोलीखोला–छिन्चु जाजरकोट सडकसम्मलाई ‘फोर लेन’को लागि काम भइरहेको छ । छिन्चु कर्णाली प्रवेशद्वार अन्तर्गत पर्ने पहिलो बजार हो । त्यसैले पहिला छिन्चुमा ‘फोर लेन’ बनाउने र बिस्तारै सबै क्षेत्रलाई ‘फोर लेन’ सडककै रूपमा विकास गर्ने योजना डिभिजन कार्यालयको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जडीबुटी भारत निकासी नहुँदा नेपालगञ्जमै सड्दै

४ बैशाख २०८०, सोमबार १३:४९
नेपालगञ्ज : भारततर्फ निकासी गर्ने गरी यहाँ संकलन गरिएको जडीबुटी निकासी हुन नसक्दा सड्ने अवस्थामा पुगेको छ । दुई वर्षअघि यहाँ खरिद गरी भारत निकासी गर्न तयार गरिएको ७ सय टन जडीबुटी कुहिने अवस्थामा पुगेको हो । भारत सरकारले नेपालको ल्याबलाई मान्यता दिए पनि सेन्टर ल्याब ठीक नहुँदा जडीबुटी सूचीकृत हुन नसक्दा […]