लागुऔषध नियन्त्रण गर्न जनचेतनामुलक र उपचारात्मक विधि अपनाउनु पर्नेमा जोड

सदरलाइन संवाददाता २६ चैत्र २०७९, आईतवार १५:१६
 

नेपालगञ्ज : लागूपदार्थ दुब्र्यसनी नियन्त्रणका लागि जनचेतनामूलक र उपचारात्मक दुवै विधिलाई एकैसाथ लैजानुपर्ने आवश्यकता रहेको आइतवार नेपालगञ्जमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

लागूऔषध रोकथाम, उपचार तथा जनचेतनामूलक कार्यक्रम परियोजना अन्तर्गत् आयोजित सरोकारवालाहरुबीच जिल्लास्तरीय परिचयात्मक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले लागूपदार्थ दुब्र्यसनको अवस्था भयावह भएकाले यसको नियन्त्रणका लागि जनचेतनामूलक र उपचारात्मक दुवै विधिलाई एकैसाथ लैजानुपर्ने बताएका हुन् ।

कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बाँके लागूऔषध कारोवार र सेवनका हिसावले उच्च जोखिम क्षेत्र रहेकाले यसको नियन्त्रणका लागि प्रशासन लागिपरेको बताए । उनले लागूऔषध कारोवारविरुद्ध गृहप्रशासन निर्मम हुने भन्दै यो समस्या कानुनले मात्रै नियन्त्रण नहुने भएकाले जनचेतनामूलक कार्यक्रम पनि जरुरी रहेको बताए । यस्तै बाँकेका प्रहरी प्रमुख सन्तोषसिंह राठोरले भारतसँगको खुला सीमानाका कारण नेपालगञ्ज लागूऔषध कारोबारको ट्रान्जिट प्वाइन्ट बन्दै गएकाले यसको नियन्त्रणका लागि प्रहरी लागि परेको बताए । उनले प्रहरीले समुदायसँग मिलेर सचेतीकरणका कार्यक्रम पनि चलाइरहेको जानकारी दिए ।


नेपालगञ्जमा चार हजार बढी लागूऔषध प्रयोगकर्ता रहेको तथ्याङ्क छ । दुई वर्ष अघि लागूपदार्थ दुब्र्यसनीविरुद्ध क्रियाशील संघसंस्थाहरुले गरेको अध्ययनले ३ हजार ९ सय ९६ जना पुरुष र ७४ जना महिला सेवनकर्ता रहेको तथ्याङ्कले देखाएको थियो । तर, यो संख्या अहिले दोब्बरले वृद्धि भएको उनीहरु बताउँछन् । लागूपदार्थ दुव्र्यसनी विरुद्धका अभियन्ता सन्तोष सापकोटाद्वारा प्रस्तुत कार्यपत्रमा पछिल्लो समय १२ देखि १५ वर्ष उमेर समूहका बालबालिका पनि दुव्र्यसनमा फस्न थालेका छन् । कलिला बालबालिका दुब्र्यसनको लतमा फस्नुलाई स्थिति भयावहका रुपमा लिनुपर्ने अवस्था रहेको उनको भनाई छ । सुधार गृहमा १८ वर्ष मुनिका बालबालिकालाई राख्न पाइँदैन ।

लागूऔषधको आपूर्ति नियन्त्रण गर्ने र माग घटाउने, उपचार तथा पुनःस्थापनातर्फ राज्यले पनि प्रभावकारी ध्यान दिन जरुरी रहेको अर्का अभियन्ता रविन्द्रसिंह राठोरले बताए । नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा लागूपदार्थ दुब्र्यसनी विरुद्ध क्रियाशील सामना पुनःस्थापना केन्द्र बाँकेले नगर क्षेत्रभित्र क्रियाशील लागूऔषध उपचार तथा पुनःस्थापना केन्द्रहरुसँगको समन्वयमा कार्यक्रम गरेको हो ।

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाकी कार्यपालिका सदस्य बिना थापा, कर्णाली प्रदेश तालिम केन्द्र नेपालगञ्जका प्रहरी निरीक्षक हस्तबहादुर सुनार, विभिन्न सुधार गृहका प्रमुख तथा प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कांग्रेस बाँकेद्वारा क्यान्सर अस्पतालका विरामीलाई फलफूल वितरण

२६ चैत्र २०७९, आईतवार १५:१६
नेपालगञ्ज : नेपाली कांग्रेस बाँकेले सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल खजुराका विरामीहरुलाई फलफूल वितरण गरेको छ । जनआन्दोलन दिवस २०७९ को अवसरमा कांग्रेस बाँकेले अस्पताल पुगेर २०० जना विरामीहरुलाई फलफूल वितरण गरेको पार्टी सचिव सुधांशु कोइरालाले जानकारी दिए । नेपाली कांग्रेस बाँकेका कार्यबहाक सभापति गोपालप्रसाद अधिकारीको सभापतित्व एवम् केन्द्रिय सदस्य […]