स्वास्थ्य उपचार गाउँमै पाउँदा स्थानीय हर्षित

सदरलाइन संवाददाता १९ चैत्र २०७९, आईतवार १२:४३
 

नेपालगञ्ज : गाउँमै स्वास्थ्य जाँच र निःशुल्क औषधि पाउँदा बाँकेको जङ्गलीपूर्वावासी खुुसी भएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाभित्रकै २३ नं. वडा भए पनि त्यहाँ स्वास्थ्य र शिक्षाको पहुँच कमजोर रहेको छ । गाउँमा छाला रोगका बिरामी धेरै देखिएपछि राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ बाँकेले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

शिविरमा औषधोपचार गर्न पाउँदा वडावासी खुसी भएको स्थानीय अगुवा अजीज बेहनाले बताए । वडाको स्वास्थ्य केन्द्रमा औषधि नपाइने र नेपालगञ्ज जान टाढा पर्ने भएकाले गाउँलेले रोग लुकाएर बस्ने गरेको उनको भनाइ छ ।

साविक हिरमिनिया गाविसमा रहेको जंललीपूर्वालगायतका केही गाउँलाई नेपालगञ्ज उपमहानगरपालिकामा गाभेर २३ नं. वडा बनाइएको थियो । नेपालगञ्ज उपमहानगरपालिकाको फोहर विसर्जन केन्द्र सञ्चालन गर्न यो गाउँलाई उपमहानगरमा गाभिएको हो । वडासँग जोडिएका अन्य गाउँ भने डुडुवा गाउँपालिकाको वडा नं ६ मा पर्दछन् ।

उपमहानगरपालिकको फोहर विसर्जन केन्द्रसँग जोडिएको गाउँमा छाला रोगको संक्रमण देखिएपछि स्वास्थ्य शिविर आयोजना गरिएको महासंघ बाँकेका प्रमुख कुस्माखर बस्यालले जानकारी दिए ।


उनका अनुसार फोहर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) सँग जोडिएको नेपालगञ्जको वडा २१ र २३ तथा डुडुवा गाउँपालिकाका केही वडालाई लक्षित गरी शिविर सञ्चालन गरिएको हो । स्वास्थ्य शिविरमा आएका स्थानीय बासिन्दालाई स्वास्थ्य परीक्षणसहित आवश्यक औषधिसमेत उपलब्ध गराइएको छ ।

गाउँटोलमै चिकित्सकसहितको टोलीले निःशुल्क स्वास्थ्य परीक्षण गरेपछि स्थानीय बासिन्दाले सहजता भएको बताएका छन् । भेरी अस्पताल नेपालगञ्जका छाला रोग विशेषज्ञ डा अनिषा उप्रेती नेतृत्वको टोलीले गरेको स्वास्थ्य परीक्षणमा अधिकांशमा लुतो, चिलाउने, दाद, खुट्टा फाटेकाजस्ता समस्या देखिएको प्रमुख बस्यालले बताए ।

नेपालगञ्जको विकट वडाको रूपमा रहेको सो वडामा छाला रोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा एक सय ८० जनाको स्वास्थ्य परीक्षण भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक फेला

१९ चैत्र २०७९, आईतवार १२:४३
दाङ : सिस्ने गाउँपालिका–४ काँडास्थित जंगलबाट प्रहरीले ५ थान बन्दुक बरामद गरेको छ । वेवारिसे अवस्थामा रहेको ५ थान भरुवा बन्दुक आइतबार बिहान फेला परेको प्रहरीले जनाएको छ । अस्थायी प्रहरी पोष्ट धाउन्नेबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।