नेपालगञ्ज : विश्व दृष्टि बिशेषज्ञ दिवसको अवसरमा नेपालगञ्जस्थित मानव सेवा आश्रममा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरिएको छ ।
दिवसको अवसरमा नेपाल दृष्टि बिशेषज्ञ संघ लुम्बिनी प्रदेशको नेतृत्वमा आयोजना गरिएको निःशुल्क शिविरमार्फत मानव सेवा आश्रम नेपालगञ्जमा रहेका सबैको आँखा जाँच गरिएको हो । शिविरमा आँखा जाँचसंगै चश्माको आवश्यकता भएका र औषधिको आवश्यकता भएकाले सो सामान पनि बितरण गरिएको छ ।
शिविरमार्फत ५१ जनाको आँखा जाँच गरिएको शिविरमा सहकार्य गरेको आरएलआई हेल्थ एण्ड अप्टिकल सेन्टर चौलिक्काका प्रमुख दृष्टि बिशेषज्ञ तिलक साहले जानकारी दिए । शिविरमा जाँच गरिएका मध्ये ८ जनालाई चश्माको आवश्यकता भएको देखिएको छ भने ३ जनामा मोतियाबिन्दुको समस्या देखिएको छ ।
कार्यक्रममा बागेश्वरी अप्टिकल्स, फत्तेबाल आँखा अस्पताल, कोहलपुर नेत्रालय र ओम आई केयर अप्टिकल्सले सहकार्य गरेका थिए । यसका साथै शिविरमा नेपालगञ्ज कोहलपुर र बर्दियाका दृष्टि बिशेषज्ञहरुको सहभागिता रहेको थियो ।
यो वर्षको नारा ’अप्टोमेटरीको भूमिका बिस्तारको समय अहिले हो’ रहेको थियो । प्रत्येक वर्ष मार्च २३ मा बिश्वभर दृष्टि बिशेषज्ञ दिवस मनाउने गरिन्छ ।