कर्णाली प्रदेश अस्पताललाई सुविधासम्पन्न बनाईंदै

सदरलाइन संवाददाता २ चैत्र २०७९, बिहीबार १४:०२
 

सुर्खेत : कर्णाली प्रदेश अस्पताललाई थप सुविधासम्पन्न बनाउन लागिएको छ । प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काका अनुसार अस्पताललाई पाँच सय शय्याको बनाउने गरी भवनको तला थप गर्न लागिएको छ । तला थप गर्नका लागि प्रदेश सरकारले करिब डेढ अर्ब बजेट र आगामी तीन वर्षमा निर्माण गरिसक्ने गरी काम अघि बढाउन लागिएको निर्देशक डा. खड्काले जानकारी दिए ।

भौतिक पूर्वाधार विकाससँगै अस्पतालको स्वास्थ्य सेवामा पनि सुधार र विस्तार गरिने निर्देशक खड्काको दाबी छ । अस्पतालले पछिल्लो समय स्वास्थ्य सेवा विस्तारसँगै भौतिक पूर्वाधार विकासका काम पनि धमाधम अघि बढाएको छ ।

अस्पतालमा विशेषज्ञ चिकित्सकको व्यवस्था, भौतिक संरचना विस्तार, आधुनिक र प्रविधिमैत्री चिकित्सा उपकरणसहितको विशेषज्ञ चिकित्सकीय स्वास्थ्य सेवा प्रदान गरिने जनाइएको छ । अस्पतालले अप्थाल्मोलोजी, न्युरो सर्जरी र स्पाइन सर्जरी सेवा पनि थप गरेको छ । अक्सिजन प्लान्ट तथा पाइपलाइन जडान सञ्चालनसमेत गर्दै आएको छ ।


अस्पतालमा आएका बिरामीलाई अन्यत्र स्वास्थ्य संस्थामा रिफर गर्न नपर्ने गरी सुविधा विस्तार गर्न लागिएको जनाइएको छ । हालै मात्र अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा पनि सञ्चालनमा ल्याएको छ ।

अस्पतालमा हाल दैनिक औसत ५२५ जना बिरामीले सेवा लिन्छन् । एमएसएस (मिनिमम सर्भिस स्ट्यान्डर्स) स्कोरमा अस्पताल नेपालका सरकारी अस्पतालमध्ये पहिलो नम्बरमा परेको छ । पछिल्लो सर्वेक्षणबाट यो अस्पतालले ७९ स्कोर पाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरको शान्ति सुरक्षाप्रति सचेत छु : डिएसपी तिवारी

२ चैत्र २०७९, बिहीबार १४:०२
कोहलपुर (बाँके) : ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरिक्षक सुन्दर तिवारीले कोहलपुर क्षेत्रको शान्ती सुरक्षा कायम राख्न आफु प्रतिवद्ध रहेको बताएका छन् । हालै मात्र कोहलपुर प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका डिएस्पी तिवारीले बिहिबार सञ्चारकर्मीहरुसँगको खुल्ला अन्तरक्रिया कार्यक्रममा आफ्नो वार्षिक कार्ययोजना सार्वजनिक गर्दै यस्तो बताएका हुन् । कोहलपुर आउनु पूर्व […]