बाँकेमा खानेपानीका ७५ आयोजना अधुरै

सदरलाइन संवाददाता १० माघ २०७९, मंगलवार १२:२२
 

नेपालगञ्ज : बाँकेमा ७५ वटा खानेपानीका आयोजना निर्माणाधिन छन् । ति मध्ये ९० प्रतिशतको निर्माण काम १५–२० प्रतिशत मात्र भएको छ । गत वर्ष खानेपानीमा २४ करोड खर्च भयो, तर आयोजना धेरै भएकोले कुनै पनि सम्पन्न भएन ।

एउटा योजना सम्पन्न नहुँदै अर्को आयोजनामा हात हाल्नु पर्ने बाध्यताले आयोजना सम्पन्न गर्न नसकिएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, नेपालगन्जका डिभिजन प्रमुख तिलक न्यौपाने बताए । उनले मागको आधारमा नभई नेता र सांसदको दबाबमा माथिबाटै आयोजनाहरु थपिँदा समस्या भएको बताए ।

उनले उपभोक्ताले नचाहेको ठाउँमा पनि मन्त्री र सांसदले आयोजना ल्याउने गरेको बताए । नयाँ आयोजना नथप्न खानेपानी मन्त्रालय र विभागसँग आग्रह गरे पनि नमानेको उनको भनाई छ ।

‘नयाँ आयोजना नथपौँ, निर्माणाधिनलाई पूरा गरेर खानेपानी संचालनमा ल्याउने बजेट ल्याउनु पर्छ भन्छौँ, तर हाम्रो माग कहिँ कतै सुनुवाई हुँदैन,’ उनले भने, ‘कनिका छरे जस्तो गरि आउने बजेटले न नयाँ आयोजना सम्पन्न गर्न सकिएको छ न त पुराना सम्पन्न भएका छन् । राजनीतिक दलका नेपता, मन्त्री र सांसदले हचुवाको भरमा आयोजना ल्याउँदा डिभिजन कार्यालयलाई तनाव भएको छ ।’


डिभिजन प्रमुख न्यौपानेले योजनाको संख्या बढ्दै गर्दा बजेट घटिरहेको बताए । धेरै वर्षदेखि खानेपानीको लागि काम गरेपनि रकम अभाव र दवावका कारण आयोजना सम्पन्न गर्न नसकिएको उनको भनाई छ । ‘बर्षेनी बजेट घट्दो छ, तर माग बढ्दो छ ।

‘गत वर्षको तुलनमा यो वर्ष ३३ प्रतिशत बजेट घटेर आएकोछ,’ डिभिजन प्रमुख न्यौपानेले भने, ‘आवश्यक बजेट नआउँदा १०–१२ बर्षदेखिका आयोजना अलपत्र छन् ।’ उनका अनुसार जिल्लामा सबैभन्दा बढि राप्तीसोनारी गाउँपालिका र सबैभन्दा कम नेपालगञ्ज उपमहानगरपालिकामा खानेपानीको आयोजना निर्माणाधिन रहेका छन् ।

जिल्लामा निर्माणाधिन यी आयोजनाहरुमध्ये ४–५ वटा आयोजना मात्र आंशिकरुपमा सञ्चालनमा रहेको उनले बताए । चालू आवमा कम्तिमा ८–१० वटा खानेपानीको आयोजना सञ्चालनमा ल्याउने गरि काम भइरहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सञ्चालनमा नआउँदै बिग्रियो कार्गो एक्स–रे मेसिन

१० माघ २०७९, मंगलवार १२:२२
नेपालगञ्ज : नेपालगञ्ज विमानस्थलमा आठ महिनासम्म अलपत्र परेको ‘कार्गो जाँच एक्स–रे मेसिन’ जडान नहुँदै बिग्रिएको छ । कार्गो जाँचका लागि यहाँ ल्याइएको एक्स–रे मेसिन आठ महिनासम्म पनि जडान गरिएन । नागरिक उड्डयन कार्यालय नेपालगञ्जले भने सो मेसिन आएको तीन महिनापछि गत भदौमा जडान गर्न खोज्दा बिग्रिएको पाइएकाले मेसिन जडान नगरिएको […]

सम्बन्धित