कोहलपुर–सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइन विस्तारले गति लिँदै

सदरलाइन संवाददाता २ चैत्र २०७९, बिहीबार १३:५६
 

नेपालगञ्ज : निर्माण शुरु भएको लामो समयपछि कर्णालीको समृद्धिसँग जोडिएको कोहलपुर–सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइन विस्तारले गति लिएको छ । आर्थिक वर्ष २०७७ असारदेखि सुरु भएको आयोजनाले हालसम्म सुर्खेत क्षेत्रमा ३० र कोहलपुर सबस्टेसनदेखि बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रको चिसापानीसम्म १५ वटा गरी ४५ वटा हाई टेन्सन लाइनको टावर निर्माण सम्पन्न गरेको छ ।

बाँकी क्षेत्रमा टावरका लागि फाउन्डेसन निर्माण र रुख कटानको काम धमाधम भइरहेको आयोजनाले जनाएको छ । आयोजना शुरु भएको लामो समयसम्म पनि बर्दिया राष्ट्रिय निकुञ्जले रुख कटानको अनुमति नदिँदा विस्तारको काम रोकिएको थियो । केही महिनाअघि अख्तियारीको जिम्मेवारी पाएको वन तथा वातावरण मन्त्रालयले रुख कटानको अनुमति दिएसँगै आयोजनाले हालसम्म ५० प्रतिशत काम सम्पन्न गरेको जनाइएको छ ।

पहिलो चरणमा टावर निर्माणको काम गरिने छ भने दोस्रो चरणमा तार तान्ने, सबस्टेसन निर्माणलगायतका कामहरू गरिनेछ । सुर्खेतसहित कर्णालीका १० वटै जिल्लाको विद्युत् समस्या हल गर्न एक मात्र विकल्प ठानिएको उक्त प्रसारण लाइन विस्तारको काम धमाधम अघि बढेको आयोजना प्रमुख रविकुमार चौधरी बत्ताउँछन् ।

यही रफ्तारमा कुनै अवरोधबिना काम अगाडि बढे आगामी वर्षसम्म आयोजना सम्पन्न हुने चौधरीको भनाइ छ । प्रसारण लाइन विस्तारका लागि कोहलपुरदेखि सुर्खेतसम्म १ सय ६२ वटा टावर निर्माण गर्नुपर्ने हुन्छ । जसका लागि बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा मात्रै ७४ वटा टावरका लागि करिब ४३ हेक्टर जमिन आवश्यक पर्छ । प्राधिकरणका अनुसार प्रसारण लाइन विस्तार गर्दा १३ हजार ५४ वटा रुख कटान हुनेछन् ।

आयोजना निर्माण क्षेत्रमा सुर्खेतको वीरेन्द्रनगर, भेरीगङ्गा र लेकबेँसी नगरपालिकासहित बर्दिया तथा बाँके राष्ट्रिय निकुञ्जअन्तर्गत बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका पर्छन् । प्रसारण लाइनको ७०.५४५ भाग वनको क्षेत्र, १६.१३५ खेतीयोग्य जमिन, २.२६५ बाँझो जमिन तथा ११.०६५ अन्य भागले ओगटेको छ । विद्युत् प्रसारण लाइन कार्यान्वयनका लागि निजी, सामुदायिक तथा सरकारी वन क्षेत्र गरी कुल जग्गाको क्षेत्रफल २२५ वर्ग मिटर हुनेछ ।


त्यस्तै, ९८.०५७९ हेक्टर जग्गा टावर निर्माण, सबस्टेसन निर्माण तथा क्षेत्राधिकारका लागि आवश्यक पर्ने आयोजनाले जनाएको छ । जसमध्ये ३.७२४९ हेक्टर स्थायी रूपमा सबस्टेसन निर्माणको लागि र ३.३०७५ हेक्टर टावरको जग निर्माणका लागि अधिग्रहण हुनेछ, भने बाँकी ९१.०२५५ हेक्टर जमिन अस्थायी रूपमा प्रयोग गर्न सकिने उल्लेख छ ।

प्रसारण लाइन बाँकेको कोहलपुर सबस्टेसनबाट सुरु भएर सुर्खेतको सुब्बाकुना सबस्टेसनमा पुगेर टुङ्गिनेछ । तत्कालीन मध्य पश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम सुर्खेतको वीरेन्द्रनगरमा मात्रै प्रयोगका लागि २०४४ सालमा जडान गरिएको ३३ केभी प्रसारण लाइनको भरमा हाल कर्णाली प्रदेशका ७ जिल्लामा विद्युत् सेवा आपूर्ति हुँदै आएको छ ।

निकुञ्जले अनुमति नदिएकै कारण दुई वर्षअघि ६० करोडमा ठेक्का लागेको प्रसारण लाइनको काम गत भदौमा नौ महिनाका लागि थप गरिएको थियो । प्रसारण लाइन निर्माणको जिम्मा भारतीय निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रालिले लिएको छ । यस्तै, सुदूरपश्चिमको कैलाली जिल्लाबाट सुर्खेत ल्याउन लागिएको ३३ केभी प्रसारण लाइन विस्तारको कामले पनि तीव्रता पाएको छ ।

केही समय अघि कैलालीको मोहन्याल गाउँपालिकाबाट विस्तार भएको प्रसारण लाइन सुर्खेतको पञ्चपुरी नगरपालिकाको बाबियाचौरस्थित सबस्टेसनमा जडान गरी एक सय ५० घरधुरीमा बत्तीसमेत बलिसकेको छ । अन्य क्षेत्रमा पनि लाइन विस्तार र तार तान्ने काम भइरहेको सुर्खेत वितरण केन्द्रका प्रमुख युवराज रावलले जानकारी दिए । उक्त प्रसारण लाइनलाई बड्डिचौर–बाङगेसिमल हुँदै वीरेन्द्रनगरस्थित बुदबुदी सबस्टेसनमा पुर्याइने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णाली प्रदेश अस्पताललाई सुविधासम्पन्न बनाईंदै

२ चैत्र २०७९, बिहीबार १३:५६
सुर्खेत : कर्णाली प्रदेश अस्पताललाई थप सुविधासम्पन्न बनाउन लागिएको छ । प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काका अनुसार अस्पताललाई पाँच सय शय्याको बनाउने गरी भवनको तला थप गर्न लागिएको छ । तला थप गर्नका लागि प्रदेश सरकारले करिब डेढ अर्ब बजेट र आगामी तीन वर्षमा निर्माण गरिसक्ने गरी काम अघि […]