बर्दियाका ६ गैंडा भारतीय आरक्षमा

सदरलाइन संवाददाता १० फाल्गुन २०७९, बुधबार १३:५७
 

बर्दिया : बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केका ६ वटा गैंडा सीमावर्ती कतरनियाघाट वन्यजन्तु आरक्षमा पुगेका छन् । एक साताअघि ६ मध्ये २ वटा गैंडा भारतको बहराइच जिल्लाको मध्यवर्ती क्षेत्र आमा बरदियाको गाउँमा पुगेपछि स्थानीयले लखेटेर आरक्षभित्र पठाएको भारतीय सञ्चार माध्यम अमर उजालाले जनाएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको खाता अन्तर्राष्ट्रिय जैविक मार्गसँग भारतको कतरनियाघाट वन्यजन्तु आरक्ष पर्दछ । खाता जैविकमार्गबाट हात्ती, बाघ, गैंडालगायत वन्यजन्तु ओहोरदोहोर गर्छन् । भारतीय आरक्षमा पुगेका वन्यजन्तु गैंडा फर्किन पाउँदैनन् । यस आरक्षमा भने गैंडा नभएका कारण नेपालभित्र नपसून् भनेर भारतीय आरक्ष सुरक्षाका लागि खटिएका वनकर्मीले रोक्ने प्रयास गर्दै आएको स्थानीयले बताएका छन् ।

खाता जैविकमार्ग डिभिजन वन कार्यालय, बर्दियाअन्तर्गत पर्छ । कार्यालयका जिल्ला वन अधिकृत प्रवीण बिडारीले वन्यजन्तु ओहोरदोहोर गर्ने मार्ग भएकाले गैंडा पसेको हुन सक्ने बताए । भारतीय वनका अधिकारीले हामीसँग समन्वय नगर्दा जानकारी पाउन नसकेको उनले बताए ।

नेपालबाट भारत पुगेका गैंडा फर्काउन पाइँदैन । कतरनियाघाटस्थित आरक्षमा नेपालबाट गएका गैंडाको संख्या यकिन गर्न नसकिएको निकुञ्ज स्रोतले जनायो । भारतीय आरक्षमा पुगेका गैंडाले दुःख दिए वा कुनै समस्या भए‚ फर्काएर लैजान आग्रह गरे मात्र ल्याउन मिल्ने राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख रविन कडरियाले बताए ।


भारतबाट पनि ठूलो संख्यामा हात्ती छिर्ने गर्छन्,’ उनले भने‚ ‘स्वतन्त्ररुपमा वन्यजन्तु आउजाउ गर्न पाउने विश्वव्यापी मान्यताअनुसार अन्तर्राष्ट्रिय जैविकमार्गको धारणा अघि सारेको हो ।’

संरक्षणकर्मी हेमन्त आचार्यले वन्यजन्तुलाई रोकेर राख्न नमिल्ने बताए । बाढीले बगाएर भारत पु¥याएको गैंडालाई चितवन निकुञ्जले फिर्ता ल्याइएको उदाहरण रहेको उनले जनाए ।

बर्दिया निकुञ्जमा पछिल्लो गणनाअनुसार ३७ वटा गैंडा रहेका छन् । बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोककुमार भण्डारीले गैंडा भारतीय आरक्षमा बेला–बेला आउजाउ गर्ने गरेको बताए । जीपीएस रेडियो कलर बिग्रेको कारण गैंडाको अवस्था बुझ्न गाह्रो भएको उनले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गोली लागेको अवस्थामा सुर्खेतमा प्रहरी जवान मृत भेटिए

१० फाल्गुन २०७९, बुधबार १३:५७
नेपालगञ्ज : एक जना प्रहरी गोली लागेको अवस्थामा मृत भेटिएका छन् । सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत प्रहरी जवान कवीन्द्र विक गोली लागेको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । दार्चुला घर भइ हाल कर्णाली प्रदेश प्रहरी गण सुर्खेतमा कार्यरत प्रहरी जवान विक बुधवार राती […]