बाँके–सल्यान सडक : चुनावी नारा मात्र बनिरहेकोमा आपत्ति

सदरलाइन संवाददाता २९ माघ २०७९, आईतवार १३:०६
 

नेपालगञ्ज : प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा सबै उम्मेदवारले चुनावी मुद्दा बनाएको नेपालगञ्ज–सल्यान पर्यटकीय सडक निर्माण सुरु गर्न स्थानीयवासीले दबाब दिन थालेका छन् ।

बाँकेको चप्परगौँडीबाट खड्कवार–घुइँयाबारी हुँदै सल्यान जोड्ने अन्तरप्रदेश पर्यटकीय सडकको निर्माणलाई निर्वाचनमा सबै राजनीतिक दलले आफ्नो चुनावी एजेन्डा बनाएका थिए । यो सडकको निर्माण २०१५ सालबाट नै केही उम्मेदवारको चुनावी नारा बन्दै आएको छ ।

यस पटक पनि सबै राजनीतिक दलले यो सडक निर्माणको एजेन्डालाई प्राथमिकतामा पारेर चुनावी मुद्दा बनाएका हुन् । कोहलपुरलाई आर्थिक तथा सामाजिक रूपले सबल बनाउन कोहलपुर–चप्परगौँडी–खड्कवार–घुइँयाबारी हुँदै सल्यान जोड्ने अन्तरप्रदेश पर्यटकीय मार्ग बनाउन जरुरी भएको कोहलपुर नगरपालिका–१३ का स्थानीय अगुवा लालबहादुर रानाले बताए ।

उनले क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा विजयी सूर्य ढकाल र प्रदेश सभामा विजयी दुर्गा चौधरीलाई सो सडक निर्माणको माग गरे । विजयी उम्मेदवारले निर्माणको पहल गर्नुपर्छ, चुनावमा उहाँहरूको एजेन्डा पनि यही सडक थियो ।


जनप्रतिनिधि ढकाल र चौधरीले पनि सो सडक निर्माणलाई आफ्नो चुनावी एजेन्डा बनाएकाले अब पहल गर्नुपर्ने स्थानीयको माग छ । कोहलपुरका अर्का स्थानीय नीरज थापाले चुनावका बेला गरेको प्रतिबद्धताअनुसार अब काम गरेर देखाउनुपर्ने जनाउँदै सो सडक निर्माणको पहल सुरु गर्नुपर्ने बताए ।

सांसद ढकालले यो सडक निर्माणले बाँके र सल्यानका जनताको आर्थिक जीवनस्तर उठाउन कोसेढुङ्गा साबित हुने भएकाले अझै पनि यसको निर्माण प्रमुख प्राथमिकतामा रहेको बताए ।

उनले यो सडक निर्माण यस क्षेत्रको आर्थिक विकाससँग सोझै जोडिएकाले आफूले यसका लागि पहल थालिसकेको बताए । प्रदेश सभाका सांसद चौधरीले पनि कोहलपुर–चप्परगौँडी–खड्कवार–घुइँयाबारी हुँदै बाँकेलाई सल्यानसँग जोड्ने सो पर्यटकीय मार्ग निर्माणका लागि सङ्घीय सांसदसँग समन्वय भइरहेको बताए ।

सल्यान, सुर्खेत, प्युठान र रोल्पासम्म पुग्न छोटो तथा कम खर्चमा यात्रा गर्न सकिने सो सडक सञ्चालन गर्न सके पहाडको उत्पादन तराई र बाँकेको उत्पादन सल्यानलगायतका स्थानमा सहजै पुर्याउन सकिनेछ । चुरे, भावर, समथर भूभाग, मठमन्दिर, राष्ट्रिय निकुञ्ज, आदि यही बाटोमा पर्ने भएकाले पर्यटकीय हिसाबले महत्वपूर्ण मानिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुर नगरस्तरीय चित्रकला प्रतियोगिता सोमवार हुँदै

२९ माघ २०७९, आईतवार १३:०६
कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिकामा चित्रकला प्रतियोगिता सोमवार हुन लागेको छ । फागुन १ गते शिव शक्ति आधारभूत विद्यालयकमा नगर स्तरीय चित्रकला प्रतियोगिता भोली हुन लागेको कोहलपुर नगर शिक्षा शाखाका प्रमुख रामबहादुर हमालले जानकारी दिए । कोहलपुर नगर भित्रका सबै सामुदायिक विद्यालयका आधारभूत तह कक्षा १ देखि ८ मा […]