राष्ट्रिय थारु साहित्य सम्मेलन सम्पन्न

सदरलाइन संवाददाता २३ माघ २०७९, सोमबार १४:२७
 

नेपालगञ्ज : थारु भाषा, साहित्य, संस्कृति उन्नयनका लागि थारु साहित्यिक सङ्घसंस्था, भाषाप्रेमी, लेखक, प्रकाशक, सम्पादकहरू एकजुट भएर सहकार्य गर्नेलगायतका १२ बुँदे घोषणापत्र जारी गर्दै सातौँ राष्ट्रिय थारु साहित्य सम्मेलन बाँकेमा सम्पन्न भएको छ ।

थारु लेखक सङ्घ र थारु गोचाली समाज फत्तेपुरले आयोजना गरेको सम्मेलनको समापन गर्दै थारु लेखक सङ्घका अध्यक्ष डा. कृष्णराज सर्वाहारीले यो सम्मेलनले थारु साहित्यको विकास र जगेर्नाका लागि महत्वपूर्ण काम गरेको बताए ।

दाङ, देउखुरी, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेतमा थारु साहित्यकारको अवस्था हेरेर लुम्बिनी प्रदेशमा प्रज्ञा प्रतिष्ठान बन्नु पर्ने आवश्यकता औँल्याउँदै उनले केन्द्रको प्रज्ञा प्रतिष्ठानमा पनि थारु सदस्यलाई प्राज्ञ बनाउनुपर्ने माग गरे ।

थारु समुदायको कला संस्कृतिको खोज अनुसन्धान तथा इतिहासबारे दस्तावेजीकरण गर्ने उद्देश्यले थारु लेखक सङ्घले प्रत्येक वर्ष राष्ट्रिय सम्मेलनको आयोजना गर्दै आएको छ । ७ औँ राष्ट्रिय थारु साहित्य सम्मेलनमा ६ वटा विविध विषयमा छलफल, बहस गरिएको थियो ।


राप्ती सोनारीको विकासकालागि प्राथमिकताहरू, आदिवासी भाषा दशक र बाँकेको मातृभाषा, विकासमा वरघर, होमस्टेमा थारु समुदाय, आख्यानमा थारु, बाँकेमा थारु साहित्यको अवस्था, थारु साहित्यमा युवा र सिकलसेल एनिमियाको कहरस् जनस्वास्थ्यमा प्रतिकुल असरबारे विषयगत सम्बन्धित ब्यक्तित्वहरुलाई प्यानलिस्ट बनाएर घनिभूत छलफल गरिएको थियो ।

बहसमा पत्रकार विमला चौधरी, लेखक तथा थारु कला संस्कृति खोजअनुसन्धान कर्ता शेखर दहित, सञ्चारकर्मी तथा वरघर अभियन्ता एकराज चौधरी, सञ्चार कर्मी तथा साहित्यकार नवीन अभिलाषी, साहित्यकार सागर गैह्रे, लेखिका वालिका चौधरी, सिकलसेल एनिमिया रोकथामका अभियन्ता प्रभुराम चौधरी, युवा साहित्यकार भूमिका थारुलगायतले सहजकर्ताको भूमिका निभाएका थिए ।

कोरोना कहरले यस वर्ष थारु भाषाका नयाँ पुस्तक धेरै प्रकाशित नभए पनि लक्ष्मी रानाले लेखेको सोरठ र गणेश वर्तमानले लेखेको ट्वाना उपन्यास र थारु क्यालेण्डर विमोचन गरिएको थियो । सम्मेलनमा पूर्व सुनसरी, मोरङदेखि सुदूरपश्चिमको कञ्चनपुरलगायतका जिल्लाबाट झण्डै तीन सय लेखक, पत्रकार, विश्लेषक, अध्येताहरूको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुदूरपश्चिमका मुख्यमन्त्री रावलले बुधबार विश्वासको मत लिने

२३ माघ २०७९, सोमबार १४:२७
नेपालगञ्ज : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बुधबार विश्वासको मत लिने तयारी गरेका छन । २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका रावलले २५ माघमा विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठक आह्वानका लागि प्रदेशसभा सचिवालयलाई आग्रह गरेका छन् । सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्रीले बुधबार बिहान ११ बजे प्रदेशसभाको बैठकमा विश्वासको मत […]