राष्ट्रपति भण्डारीद्वारा आयुर्वेद शिक्षण अस्पताल उद्घाटन

सदरलाइन संवाददाता ३ फाल्गुन २०७९, बुधबार १३:२१
 

दाङ : राष्ट्रपति विद्यादेवी भण्डारीले दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत रहेको केन्द्रीय आयुर्वेद क्याम्पस एवं शिक्षण अस्पताल उद्घाटन गरेकी छन् । नेपाली सेनाको हेलिकोप्टरमार्फत दाङको बेलझुण्डी पुगेकी राष्ट्रपति भण्डारीले बुधबार क्याम्पस एवं अस्पतालको अवलोकनसमेत गरेकी छन् ।

दाङको बेलझुण्डीमा आयुर्वेद स्नातक (बीएएमएस) कक्षा सञ्चालनका लागि २४ करोड ७२ लाख ८३ हजार ४ सय ६६ रुपयाँ लागतमा भवन निर्माण भएको हो । नेपाल सरकार, विश्वविद्यालय अनुदान आयोगमार्फत प्राप्त अनुदानबाट २०७४ असार मसान्तमा भवन निर्माण सुरु भएको नेपाल संस्कृत विश्वविद्यालयका कूलसचिव माधव अधिकारीले बताए ।

भवनमा ३ तला र १ सय ८ वटा कोठाहरू रहेकोमा तल्लो तलामा आयुर्वेद अस्पताल सञ्चालनको व्यवस्था मिलाइएको छ भने अन्य कोठामा पठनपाठन र प्रशासनिक कामहरू भइरहेका छन् । केही कोठाहरू मर्ज गरेर अस्पताल र हल कोठा बनाएका कारण हाल ५३ वटा कोठाहरू रहेको कुलसचिव अधिकारीले बताए । उक्त भवनमा विभिन्न ब्याचका २ सय १५ जना विद्यार्थी अध्ययनरत रहेको उनले जानकारी दिए ।


भवनको उद्घाटन कोरोना महामारीका कारण रोकिएकाले अहिले सहज अवस्था बनेपछि गर्न लागिएको अधिकारीले बताए । कोरोना महामारीका क्रममा उक्त भवनमा लुम्बिनी प्रदेशको कोरोना विशेष अस्पताल सञ्चालन गरी कोरोनाका बिरामीहरूको उपचार गरिएको थियो ।

विश्वविद्यालयका १२ आंगिक र १२ वटा सम्बन्धनप्राप्त क्याम्पसहरू रहेका छन् । हाल यस विश्वविद्यालयमा उपाधिमूलक तहगत पाठ्यक्रमअन्तर्गत शास्त्री (स्नातक), आचार्य (स्नातकोत्तर) र विद्यावारिधि (पीएचडी) स्तरका कक्षाका साथै आयुर्वेद स्नातक (बीएएमएस) र शिक्षाशास्त्री (बीएड) कार्यक्रम सञ्चालित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रोजगारी प्रवर्धनकालागि स्थानीय सरकार र महिलाहरुविच संवाद

३ फाल्गुन २०७९, बुधबार १३:२१
नेपालगञ्ज : बाँके युनेस्को क्लबले बर्दियाको गुलरिया नगरपालिकामा युवा महिलाहरुको रोजगारी प्रवर्धनकालागि स्थानीय अवसर, संभावना तथा आगामी प्राथमिकता विषयमा एकदिने संवाद कार्यक्रमको आयोजना गरेको छ । प्लान इन्टरनेशनल नेपालको सहयोगमा क्लबद्धारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत सो संवाद कार्यक्रम आयोजना गरिएको हो । सो संवाद कार्यक्रममा स्थानीय तहमा रोजगारी सृजना […]