शुक्रवारदेखि घोराहीमा माघ महोत्सव शुरु

सदरलाइन संवाददाता २२ पुष २०७९, शुक्रबार १४:१२
 

दाङ : थारु समुदायको महान पर्व माघी नजिकिएसंगै दाङका थारु समुदायमा पनि माघी पर्वको रौनक थपिएको छ । जिल्लाको घोराहीमा शुक्रवारदेखि माघी विशेष ‘माघ महोत्सव’ शुरु भएको छ ।

थारु कल्याणकारिणीसभा दाङको आयोजनामा शुरु भएको माघ महोत्सव दुईदिन चल्ने आयोजकले जनाएको छ ।

‘आर्थिक जागरण व साँस्कृतिक रुपान्तरण हमार अभियान, सामाजिक न्यायसहितक समृद्धिम हमार योगदान’ भन्ने नारासहित आजदेखि महोत्सव शुरु हुँदैछ ।

महोत्सवको मुख्य आकर्षण थारु समुदायको परम्परागत हस्तकला, काष्ठकला, दर्जनौं थारु भाषाको पुस्तक प्रदर्शनी, थारु परिकार ढिक्री, घोङ्गी, माछा, गंगटालगायत परिकारहरु रहेका छन् ।


महोत्सवमा मघौटा, छोक्रा, हुर्डुङ्यालगायत ६७ भन्दाबढी नाच प्रस्तुति हुने महोत्सव मूल आयोजक समितिका संयोजक एवं थारु कल्याणकारिणीसभा दाङका अध्यक्ष भुवन चौधरीले जानकारी दिए ।

महोत्सव उद्घाटनको दिन थारु संस्कृति झल्कले भेषभूषा, थारु समुदायले प्रयोग गर्ने हलो, जुवा, छिट्वा, गैजा, हेल्का, डेल्या, गुन्द्री, खटिया, ढकिया, भौकालगायतका सामग्रीसहित बजार परिक्रमा गर्ने कार्यक्रम रहेको प्रचारप्रसार संयोजक सन्तोष दहितले जानकारी दिए ।

बजार परिक्रमा ट्राफिक चोकदेखि निमाहल रोड हुँदै आर्मी ब्यारेक र मेन रोड हुँदै बजार परिक्रमा हुने बताइएको छ । महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री डिल्ली बहादुर चौधरीले गर्ने कार्यक्रम छ ।

महोत्सवको अवलोकन १५ हजारबढीले गर्ने आँकलन गरिएको आयोजकले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘इ–लाइब्रेरी’को रुपमा विकास हुँदै महेन्द्र पुस्तकालय

२२ पुष २०७९, शुक्रबार १४:१२
नेपालगञ्ज : पश्चिम नेपालको पहिलो महेन्द्र पुस्तकालय नेपालगञ्ज इ–लाइब्रेरीको रुपमा रुपान्तरण हुन थालेको छ । बाँकेको भाषा, साहित्य र सिर्जनामा योगदान पुर्याएको सो पुस्तकालयलाई नयाँस्वरुपमा लैजाने प्रयत्न भए पनि पुस्तकालय गएर अध्ययन गर्ने पाठकको कमी देखिएको स्रष्टाहरुले जनाएका छन् । उनीहरु भन्छन्, ‘केही समय नेतृत्वविहीन हुँदा बन्द भएको पुस्तकालयले अहिले […]