सरकारले धान खरिद नगर्दा सस्तोमा बिक्री गर्दै बाँकेका किसान

सदरलाइन संवाददाता १४ मंसिर २०७९, बुधबार १४:१४
 

नेपालगञ्ज : बाँकेका किसानले उत्पादन गरेको धान बर्षेनी सरकारले तोकेको मुल्यमा खरिद गर्दै आएपनि नेपालगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस पटक हालसम्म धान खरिद नगर्दा किसानहरु समस्यामा परेका छन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले अहिलेसम्म पनि धान खरिद प्रक्रिया शुरु नगरेकाले किसानले सस्तोमा व्यापारीलाई धान बिक्री गर्नुपर्ने बाध्यता रहेको किसानको गुनासो छ ।

सरकारले यस वर्ष मोटा धानको समर्थन मूल्य दुई हजार ९६७ रूपैयाँ तोके पनि खाद्य व्यवस्था कार्यालयले खरिद नगर्दा बजारमा व्यापारीलाई बाध्य भएर दुई हजार ४०४ रुपैयाँमा बिक्री गरेको डुडुवा कम्दीका किसान हरिराम यादवले बताए ।

पैसाको जरुरी परेका बेला सरकारले तोकेको मुल्यमा व्यापारीले धान खरिद नगर्दा सस्तोमा बिक्री गर्नुपर्ने बाध्यता आएको यादवले गुनासो गरे । हिउँदे बाली गहुँ लगाउने बेला भएकाले बीउँ र मल खरिद गर्न पैसा नहुँदा बाध्य भएर व्यापारीलाई सस्तोमा धान बिक्री गर्नुपरेको खजुरा ३ का किसान रमेश थापाले बताए ।


सरकारले तोकेको मुल्यभन्दा निकै कम मुल्यमा बजारमा व्यापारीले खुला रुपमा धान खरिद गरेपनि कुनै निकायले केही नबोल्दा आफुहरु समस्यामा परेको थापाले बताए । सोही प्रकारले नेपालगञ्ज उपमहानगरपालिका १२ का किसान सुन्दर जरवटले पनि तीन क्विन्टल मोटा धान बाध्य भएर सस्तो मुल्यमा व्यापारीलाई बेचेको बताए ।

सरकारले तोकेको भन्दा प्रतिक्विन्टल ५०० रुपैयाँ कममा व्यापारीले धान खरिद गरिरहेको किसानको भनाइ छ । नेपालगञ्ज, खजुरा र कोहलपुरका व्यापारीले मोटो धानको प्रतिक्विन्टल दुई हजार ४०० भन्दा बढी मूल्य दिन नमानेपछि अधिकांश किसानले बाध्य भएर सस्तोमा धान बिक्री गरिरहेका छन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जका प्रमुख रामशरण लामिछानेले धान खरिदका लागि मूल्य तोकिए पनि बाँकेबाट कति धान खरिद गर्ने भन्ने कोटा निर्धारण नगरिएकाले धान खरिद शुरु नभएको बताए ।

कोटो निर्धारण गरेर खरिद गर्ने निर्देशन आएलगत्तै बाँकेमा पनि किसानका धान सरकारी दररेटमा खरिद गरिने उनको भनाइ छ । धान खेती भएको क्षेत्रलाई आधार मान्दा यस वर्ष बाँकेमा एक लाख ४९ हजार १०२ मेट्रिक टन धान उत्पादन भएको आँकलन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्मचारीको आन्दोलनले पालिकाको कामकाज ठप्प

१४ मंसिर २०७९, बुधबार १४:१४
नेपालगञ्ज : दाङको लमही नगरपालिकामा लगातारको आन्दोलनले स्थानीय सरकारबाट गर्नुपर्ने काम ठप्प भएका छन् । प्रमुख प्रशासकीय अधिकृतले कर्मचारीमाथि विभेद गरेको र खटनपटनमा पूर्वाग्रही गरेको भन्दै आन्दोलनमा उत्रिएका कर्मचारीले नगरपालिकाबाट दिइने सेवा सुविधा बन्द गरी आन्दोलनमा उत्रिएका हुन् । कर्मचारी आन्दोलनका कारण सेवाग्राहीलाई आवश्यक पर्ने सिफारिस, योजना सम्झौता, राजस्व भुक्तानीलगायतका […]