डुडुवाका अध्यक्ष चौधरीको ‘मनोमानी’ विरूद्ध कार्यपालिका सदस्य

सदरलाइन संवाददाता ३० कार्तिक २०७९, बुधबार १३:१६
 

डुडुवा (बाँके) : डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले पालिकाका काम–कारबाहीमा एकलौटी गरिरहेको भन्दै कार्यपालिका सदस्यहरूले विरोध जनाएका छन् ।

केही दिनअघि अध्यक्ष चौधरीले पत्रकार सम्मेलन गरेर प्रतिपक्षी दलका वडाअध्यक्षहरूले आफ्ना कामहरूमा अवरोध गरेर गाउँपालिकालाई ‘बन्धक’ बनाएको आरोप लगाएका थिए ।

त्यसपछि कार्यपालिकाका सदस्यहरूले बुधबार एउटा सामूहिक विज्ञप्ति निकालेर त्यो आरोपलाई भ्रामक भन्दै बरू अध्यक्ष चौधरीले सबै कामहरू एकलौटीरूपमा गर्न खोजेको बताएका छन् ।

‘डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले विपक्षीहरुले गाउँपालिकालाई बन्धक बनाएको र निकास नदिएको आरोप निराधार एवं भ्रामक मात्र हो’ उनिहरूले भनेका छन् ‘जनताका सेवा गर्ने प्रतिबद्धताका साथ निर्वाचित जनप्रतिनिधीहरु पटक पटक लिखित र मौखिक रुपमा गाउँपालिका अध्यक्षलाई गाउँसभा गर्न तथा सम्बन्धित निकायलाई समेत लिखित निवेदन गरि गाउँसभाको वातारवरण बनाउन पहल गरिदिन आग्रह गर्दा पनि गाउँपालिका अध्यक्षले नितान्त व्यक्तिगत अहमताका कारण गाउँसभा हुन नदिएको जानकारी गराउन चाहन्छौं ।’

कार्यपालिका सदस्यहरूले वडाका जनप्रतिनिधिहरूसँग कुनै पनि समन्वय नै नगरेर वडाका सम्पूर्ण योजनाहरूमा समेत पालिका अध्यक्ष चौधरीले आफै हस्तक्षेप गरेको पनि बताएका छन् ।


‘गाउँपालिका अध्यक्षमा निर्वाचित नरेन्द्र कुमार चौधरीले प्राप्त जनादेशलाई स्वीकार नगरी मनोमानी र एकल निर्णयबाट गाउँपालिकालाई चलाउने सोच र गतिविधीका कारण आमनागरिकमा नकारात्मक सन्देश गएको छ’ विज्ञप्तिमार्फत उनिहरूले अध्यक्ष चौधरीलाई भनेका छन् ‘बजेट विनियोजन गर्दा बाँकेका अन्य ७ वटा स्थानीय तहले अपनाएको विधि अनुसार डुडुवा गाउँपालिकाको बजेट निर्माण गर्नुपर्ने मागलाई अध्यक्ष चौधरीले आफूअनुकुल र कानून विपरितको निर्णय गर्न लगाएको र जनताको विपक्षमा गएर कहिले पनि गलत निर्णय नलिने भन्नु जायज हो ?’

अध्यक्ष चौधरीको मनोमानी रोक्नका लागि जनदबाव र खबरदारीका लागि डुडुवा गाउँपालिकावासीलाई आग्रह गर्दै उनिहरूले अध्यक्षसामु विभिन्न तीनवटा मागहरू पनि राखेका छन् ।

कार्यपालिका सदस्यका मागहरू
डुडुवा गाउँपालिकाको कार्यपालिका बैठक आयोजना गर्दा विविध नभई प्रष्ट एजेण्डासहितको पत्र कार्यपालिका सदस्यहरुलाई ७२ घण्टा अगावै उपलब्ध गराउनुपर्ने र बैठकपश्चात कार्यपालिका सदस्यहरुलाई निर्णयको प्रतिलिपी उपलब्ध गराउनुपर्ने ।

विगतमा डुडुवा गाउँपालिकाको कुनै वडाले पनि लक्षित वर्गको कार्यक्रम संचालन नगरेको र जेष्ठ नागरिक सम्मान कार्यक्रम एवं खानेपानीको धारा वितरण लगायतको कार्यक्रममा वडासंग कुनै समन्वय नगरि सिधै गाउँपालिका अध्यक्षले वितरण गर्दै आएकोले बाँके जिल्लाको अन्य स्थानीयतह जस्तै यस डुडुवा गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८०को बजेटमा पनि प्रत्येक वडालाई सिलिङ्ग बजेट निर्धारण र लक्षितवर्गका लागि विनियोजन हुने रकम वडा कार्यालय मार्फत संचालन हुने भनि प्रस्ताव गाउँसभामा लैजाने निर्णय कार्यपालिका बैठकबाट गरिनुपर्ने ।

डुडुवा गाउँपालिकामा भौतिक निर्माणसंग सम्बन्धित यान्त्रिक सवारी साधनहरु जस्तै रोलर, ट्यांकर, ट्रयाक्टर, ग्रेडर, मिक्सर मेशिन, बोरिङ्ग मेशिन र डोजर लगायतको सञ्चालन र ग्यारेजको हालको अवस्थाको सम्बन्धमा छलफल गर्न कार्यपालिकामा एजेण्डा समावेश गर्नुपर्ने ।

One thought on “डुडुवाका अध्यक्ष चौधरीको ‘मनोमानी’ विरूद्ध कार्यपालिका सदस्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बादशाहको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी

३० कार्तिक २०७९, बुधबार १३:१६
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका १७ परसपुरकी निर्मला कुर्मी बेपत्ता घटनामा मुछिएका बाँके निर्वाचन क्षेत्र नं. ३ प्रदेससभा (ख) का उम्मेदवार बादशाह कुर्मीको उम्मदेवारी खारेजी माग गर्दै निर्वाचन कार्यालय बाँकेमा उजुरी परेको छ । निर्मला कुर्मी बेपत्ता सम्बन्धनमा छानविन गर्न गठन भएको समितिले पनि बादशाहलाई कारवाहीको सिफारिस गरेको भन्दै उनी विरुद्ध […]

सम्बन्धित