राजनीतिमा निष्ठा तथा नैतिक आचरणमा क्षयीकरण भयो : पूर्वराष्ट्रपति भण्डारी

सदरलाइन संवाददाता १७ श्रावण २०८१, बिहीबार १८:२५
 

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली राजनीतिमा अहिले वैचारिक निष्ठा, आदर्श एवं नैतिक आचरणमा क्षयीकरण आएको बताएकी छन् ।

बिहीबार तुलसीलाल अमात्यको २७ औँ स्मृति दिवसको अवसरमा तुलसीलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको नेपालका राष्ट्रिय लोकतान्त्रिक आन्दोलन र समृद्धिको बाटो विषयक विचार गोष्ठी र कहिल्यै नझुक्ने योद्धा पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले तुलसीलाल जस्ता नेताहरूबाट निष्ठा, आदर्श, त्याग र नैतिक आचरण सिक्नु पर्ने बताईन ।

पूर्वराष्ट्रपति भण्डारीले नेपालीले प्राप्त गरेको अहिलेको व्यवस्था कसैको निगाहबाट प्राप्त भएको नभई तुलसीलाल अमात्य लगायतका नेताहरूको त्याग र बलिदानको उपलब्धि भएको बताईन । ‘आज हामीले उपभोग गरिरहेको स्वतन्त्रता, नागरिक अधिकार र समावेशिता कसैको निगाहबाट सहजरुपमा प्राप्त भएको होइन, यी उपलब्धिहरू तुलसीलाल अमात्य लगायत हजारौँ नेता कार्यकर्ताको अटुट संघर्ष, त्याग र बलिदानको लामो श्रृङ्खलाबद्ध आन्दोलन पछि प्राप्त भएको हुन् भन्ने यथार्थतालाई वर्तमान पुस्ताले कदापि बिर्सनु हुँदैन’–उनले भनिन ।


तुलसीलाल अमात्यले कम्युनिष्ट पार्टीलाई विसर्जन हुनबाट जोगाएको भण्डारीको भनाइ छ । केशरजङ रायमाझीले कम्युनिष्ट पार्टी समाप्त गर्न लाग्दा तुलसीलालले जोगाएको पूर्वराष्ट्रपति भण्डारीले बताईन ।

नेपालको प्रगतिशिल किसान आन्दोलनमा तुलसीलालको महत्त्वपूर्ण भूमिका रहेको उनले जोड दिदै पुष्पलालले मधेसमा किसानहरूका कयौँ जाली तमसुक च्यातेर किसान मुक्तिको लागि काम गरेको स्मरण गराईन ।

कार्यक्रममा लोकतन्त्रका योद्धा तथा पत्रकार गोपाल थपलियाको जीवनमा आधारित ज्योतिलाल बनद्वारा लिखित पुस्तक ‘कहिल्यै नझुक्ने योद्धा’को पूर्वराष्ट्रपति भण्डारीले लोकार्पण गरेकी थिईन । पत्रकारिताको माध्यमबाट निरंकुशताको अन्त्य र लोकतन्त्रको स्थापनामा गोपाल थपलियाको महत्पूर्ण योगदान रहेको बताउँदै भण्डारीले सो पुस्तकले थपलियाका योगदानलाई उजागर गर्ने बताईन ।

सो पुस्तकबाट नयाँ पुस्ताका पुस्तका सञ्चारकर्मीलाई आफ्नो कार्य क्षेत्रमा ऊर्जाका साथ निरन्तर लाग्न प्रेरणा दिने उनले विश्वास व्यक्त गरिन । यसले इतिहासलाई स्मरण गर्न सहयोग पुग्ने भण्डारीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भन्सार छलेर नेपालगञ्ज भित्रिएको बोलेरोसहित सामान प्रहरीको फन्दामा

१७ श्रावण २०८१, बिहीबार १८:२५
नेपालगञ्ज : भन्सार छलेर नेपालगञ्ज भित्रिएको चिनी र खानेतेल बोकेको बोलेरोसहितको सामान बाँके प्रहरीले बरामद गरी भन्सार कार्यलयमा बुझाएको छ । भन्सार छलेर नेपालगञ्ज बसपार्क पुर्याइएको ठूलो मात्रामा चिनी र खाने तेलसहित बोलेरो बरामद गरेको छ । बोलेरो गाडीमा लोड गरिएको एक हजार ६ सय किलो चिनी र ८४ पेटी […]