नरैनापुरद्वारा मतदाता शिक्षा कार्यक्रम सञ्चालन

सदरलाइन संवाददाता २८ कार्तिक २०७९, सोमबार १२:३९
 

नरैनापुर (बाँके) : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बाँकेको नरैनापुर गाउँपालिकाले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाले मतदातालाई मतदान गर्ने तरिकाबारे सिकाउन पालिकाका सबै वडा तह हुँदै घरदैलोसम्म मतदाता शिक्षा सञ्चालन गरेको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले जानकारी दिए ।

निर्वाचनमा बदर मत न्यूनीकरण गर्न र मतदान गर्ने सही तरिकाबारे जानकारी गराउन पालिकाको ६ वटै वडामा मतदाता शिक्षा सञ्चालन गरिएको नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले जानकारी दिए । ‘यो निर्वाचनमा कतिपय मतदाता पहिलोपटक मतदान गर्दैछन्, उनीहरुलाई मतदान गर्ने तरिकाबारे जानकारी नहुन सक्छ, मतपत्र कसरी पट्याउने लगायतका बारेमा मतदातालाई सिकाइँदैछ’– उनले भने ।

मतदाता शिक्षा सञ्चालनका लागि सबै वडामा एक–एक जना स्वयंसेवक परिचालन गरिएको बताउँदै प्रमुख प्रशासकीय अधिकृत खरालले मंसिर १ गतेसम्म सबै वडा हुँदै घरदैलोसम्म मतदाता शिक्षा पुग्ने गरेर मतदाता शिक्षा सञ्चालन गरिएको बताए ।


उनले भने– ‘निर्वाचन आयोगको मापदण्ड अनुसार वडा–वडामा महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको छ ।’ मतदाताले प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिक गरी दुई वटा र प्रदेशसभातर्फ पनि त्यसरी नै अलग–अलग दुई वटा मतपत्रमा मत हाल्नुपर्नेछ ।

नरैनापुर गाउँपालिका अध्यक्ष शाहले भने, ‘स्थानीय तह निर्वाचनमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुन सकेन, त्यसले गर्दा मत बढी बदर भयो, मतदाता शिक्षालाई प्रभावकारी बनाउन सकिए बदर मत न्यूनीकरण गर्न सकिन्छ ।’ अध्यक्ष शाहले मतदाताको सक्रिय सहभागिता र मत बदर हुन नदिने गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

७२ घण्टाका लागि सीमानाका बन्द हुने

२८ कार्तिक २०७९, सोमबार १२:३९
नेपालगञ्ज : यही मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि भारतसँग जोडिएका बाँकेका सीमा नाका ७२ घन्टाका लागि बन्द गरिने भएको छ । यही आउँदो ४ गते हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित बनाउनका लागि मंसिर १ गते राती १२ बजेदेखि मंसिर ४ गते राती १२ […]