नेपालगञ्ज : अज्ञात समुहले खजुरा गाउँपालिका २, बलैगाउँका मुमबहादुर ओलीमाथि खुकुरी प्रहार गरि घाइते बनाएको छ । खुकुरी प्रहारबाट घाइते भएका ओली प्रदेससभा अन्तरगत बाँके क्षेत्र नं. ३ (ख) का एमाले–राप्रपा गठबन्धनका उम्मेदवार भीम ओलीका सहोदर भाई हुन् ।
बिहीवार रातको मध्यान्ह १२ बजेतिर घरमा सुतिरहेका भाई मुमबहादुरमाथि अज्ञात समूहले आक्रमण गर्दा टाउकोमा गहिरो चोट लागेको उम्मेदवार ओलीले जानकारी दिए । ‘हामी सुतिरहेका थियौँ । रातको करिव १२ बजेतिर अज्ञात समुह आएर बाहिर आउन भन्यो । भाई घरबाट बाहिर आउने वित्तिकै खुकुरी प्रहार गरि फरार भयो,’ उनले भने, ‘आक्रमण गर्ने समुह कहाँबाट परिचालन भएको हो भन्ने पछि खुल्दै जाला । तर घटना सुनियोजित हो भन्ने हाम्रो ठम्याई छ ।
भाई माथि भएको आक्रमणबाट हामी दुखी छौँ,’ उम्मेदवार ओलीले भने, ‘आक्रमण हुने बेला म आफै घरमा थिए । परिवारका सबै सदस्य घरमै थियौँ । यसरी आक्रमण हुँदा हामी त्रसित भएका छौँ ।’
घटना लगत्तै इलाका प्रहरी कार्यालय धनौलीबाट आएको प्रहरीले आक्रमण गर्ने समूहले प्रयोग गरेको खुकुरी र ना ६२ प ६७७४ नं. को स्कुटर घटना स्थलबाट बरामद गरेको उनले बताए ।
घाइते ओलीको स्थानीय क्लिनिकमा उपचार गरिएको छ । र थप उपचारका लागि भेरी अस्पताल ल्याइएको एमाले उम्मेदवार भील ओलीले जानकारी दिए । उनको टाउँमा धेरै ठाउँमा टाँका लागेको छ ।