धनगढी : कैलालीको लम्कीमा स्थानीयले भारतबाट आयात गरिएको प्लाष्टिकको माला जलाएका छन् । प्लाष्टिकको माला अर्थतन्त्र, स्वास्थ्य र वातावरणका लागि घातक भएको भन्दै स्थानीयले माला जलाएका हुन् ।
तिहारमा प्लाष्टिकको मालाको अत्यधिक प्रयोग हुँदा स्थानीय पुष्प व्यवसायीले उत्पादन गरेको फूल बिक्री नहुने तर भारतबाट आयात गरेको लाखौको प्लाष्टिक र रसायनको माला निर्वाध बिक्री वितरण हुने गरेको भन्दै स्थानीयले आयात गरिएको माला जलाएको बताएका छन् ।
घोडालाई लगाउने मालाको कारण नेपाली जैविक फूलको मालाले बजार नपाएको, प्लाष्टिकको मालामा हुने घातक रसायन स्वास्थ्य र वातावरणका लागि ठीक नभएको भन्दै माला जलाइएको जिल्ला सम्वनय समिति कैलालीका पूर्व प्रमुख सूर्यबहादुर थापाले बताए ।
नेपाल सरकारले गत साउन १२ गते राजपत्रमा प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न पूर्णरुपमा रोक लगाउने सूचना प्रकाशन गरे पनि त्यसको कार्यान्वयन भने गरिएको छैन ।
सुदूरपश्चिमका धनगढी, महेन्द्रनगरलगायत बजारमा आयातित प्लाष्टिकजन्य फूलको मालाको बिक्री वितरण भइरहेको छ । व्यापारीहरूले कैलाली भन्सारबाट सजावटका सामान शिर्षकमा प्लाष्टिकजन्य फूलमाला निर्वाध आयात गरिरहेको पाइएको छ ।
कैलाली भन्सारका अधिकारीहरूले भने प्लाष्टिकजन्य फूलका माला आयातमा रोक लगाएको दाबी गरेका छन् । तर धनगढीका व्यापारीले भने भन्सार तिरेर सामान आयात गरिरहेको बताएका छन् ।