बाढीका कारण दाङमा चार हजार बढी घरपरिवार प्रभावित

सदरलाइन संवाददाता ४ कार्तिक २०७९, शुक्रबार १३:०५
 

नेपालगञ्ज : अविरल वर्षाका कारण दाङमा चार हजार बढी घरपरिवार प्रभावित भएका छन् । जिल्लामा असोज १८ गते बेलुकादेखि असोज २५ गतेसम्म परेको अविरल वर्षातका कारण चार हजार सात सय ४४ परिवार प्रभावित भएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

वर्षापछिको बाढी, पहिरो र डुबानले एक हजार पाँच सय ६६ घर बस्नै नमिल्ने गरी क्षति भएको र तीन हजार एक सय ७८ घर केही मात्रामा क्षति पुगेको दाङ केन्द्रले बताएको छ । बाढी र डुबानमा परी झन्डै दुई हजार सात सय पशुचौपाया मरेको र एक हजारभन्दा बढी घाइते भएको केन्द्रको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै जिल्लाका १० पालिकामध्ये देउखुरीका चार वटा पालिकामा सबैभन्दा बढी क्षति पुगेको छ । देउखुरीको लमही नगरपालिका, राप्ती गाउँपालिका, राजपुर गाउँपालिका र गढवा गाउँपालिकामा मात्रै नौ सय ६४ घरमा क्षति पुगेको छ । उक्त स्थानमा क्षति पुग्दा चार हजार बढी परिवार विस्थापित भएका छन् ।


जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार जिल्लाका राजपुर गाउँपालिकामा तीन सय २५, बंगलाचुली गाउँपालिकामा तीन सय, लमही नगरपालिकामा दुई सय ६५, गढवा गाउँपालिकामा दुई सय ५४ र राप्ती गाउँपालिकामा एक सय २० घर भत्किएका छन् । त्यस्तै घोराही उपमहानगरपालिकामा ८०, तुलसीपुर उपमहानगरपालिकामा ९७, बबई गाउँपालिकामा ७०, शान्तिनगर गाउँपालिकामा ४४ र दंगीशरण गाउँपालिकामा ३० घरमा क्षति पुगेको छ ।

बाढी, पहिरो र डुबानमा परेका पीडितहरूलाई राहत वितरण गर्ने कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए । हालसम्म १७ लाख रुपैँया बढीको राहत वितरण भइसकेको र वितरण कार्य जारी रहेको प्रजिअ रेग्मीले जानकारी दिए । राहत वितरणमा एकरूपता कायम गर्न सम्बन्धित क्षेत्रको पालिकाबाट मात्रै राहत वितरण गर्ने निर्णय गरिएको प्रजिअ रेग्मीको भनाइ छ ।

त्यस्तै बाढी र पहिरोमा परी नौ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख विरबहादुर वलीले जानकारी दिए । अविरल वर्षाका कारण जिल्लामा बाढी र डुबानका कारण किसानले लगाएका धानबालीमा ठूलो मात्रा क्षति पु¥याएको छ । अन्य क्षतिको विवरण संकलन कार्य जारी रहेको सम्बन्धित पालिकाहरूले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा कांग्रेसका उम्मेदवार घरदैलोमा

४ कार्तिक २०७९, शुक्रबार १३:०५
नेपालगञ्ज : मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि उम्मदवारहरुले प्रचारप्रसार तीब्र बनाएका छन् । घरदैलोमा व्यस्त उम्मेदवारहरु मतदातालाई भेटिरहेका छन् । यसैक्रममा नेपाली कांग्रेसको तर्फबाट बाँकेको प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार सुदिप नरसिंह राणा र प्रदेशसभा क्षेत्र नम्बर २(१) का उम्मेदवार राजकुमार बर्मा पनि घरदैलोमा व्यस्त […]