नेपालगञ्ज : चर्को बैकिङ ब्याज विरुद्ध चरणबद्ध आन्दोलनमा रहेका नेपालगञ्जका उद्योग, व्यवसायीले अर्थमन्त्री जनार्दन शर्मालाई शनिवार भेटेर आफ्ना समस्या सुनाएका छन् ।
जवाफमा अर्थमन्त्री जनार्दन शर्माले देशभरबाट समस्या आएको बताउँदै काठमाडौं गएर सम्भवत भोलि नै सरोकारवाला निकायसँग बसेर समस्या समाधानको पहल गर्ने वचन दिएका छन् । निजिक्षेत्रको समस्याका बारेमा आफू जानकार र गम्भीर रहेको उल्लेख गर्दै उनले भने – ठाउँ–ठाउँबाट गुनासाहरु आएका छन् । काठमाण्डौ गएपछि सम्बन्धित सबै निकायसँग बसेर समाधानको बाटो खोज्छु ।
नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीको नेतृत्वको टोलीले अर्थमन्त्री शर्मालाई भेटेर निजिक्षेत्रले हाल भोगिरहेको ब्याजदर लगायतका समाधानका लागि ज्ञापनपत्र बुझाएको महासचिव चिरञ्जीवी ओलीले बताए । संघले चर्को ब्याजदरविरुद्ध र अबैध आयातविरुद्ध आन्दोलन गर्दै आएको छ ।
आन्दोलनमै रहेका व्यवसायले आज अर्थमन्त्री शर्मालाई नेपालगञ्जमा भेटेका हुन् । अर्थमन्त्रीका प्रेस बिज्ञ बरिष्ठ पत्रकार मनऋषि धितालले व्यवसायीका समस्याका बारेमा अर्थमन्त्री गम्भीर रहेको र समस्या समाधानका लागि तत्कालै सरोकावाला निकायसँग छलफल गरेर समाधानको उपाय खोज्न लाग्नु भएको बताए ।