सोमवार श्रद्धाभक्ति पूर्वक विवाह पञ्चमी मनाईंदै

सदरलाइन संवाददाता १२ मंसिर २०७९, सोमबार १४:२६
 

नेपालगञ्ज : प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व सोमवार श्रीरामचन्द्र र माता सीताको पूजा आराधनासहित प्रतीकात्मक रुपमा विवाह गरिदिएर देशभर मनाईंदैछ ।

त्रेता युगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा सोमवार देशभर राम सीताको पूजा आराधना गरी यो पर्व मनाउन लागिएको हो ।

मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव विधिपूर्वक हुँदैछ । गोस्वामी तुलसीदासले रामायणमा वर्णन गरेअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् ।


त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पारे । शिवधनुषलाई भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको भव्य समारोहबीच विवाह सम्पन्न भएको थियो ।

रामायणअनुसार जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको स्वयंवरमा ५६ कोटी देवीदेवताको उपस्थिति रहेको विश्वास गरिन्छ । सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्यरूपमा हुने विश्वासले हर्षोल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि बिहेसम्ममा सहभागी हुन्छन् ।

महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ । पौराणिक मान्यताअनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी रङ्गभूमिमा पुर्याइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हुम्लामा प्रतिनिधिहरूलाई प्रमाणपत्र वितरण

१२ मंसिर २०७९, सोमबार १४:२६
हुम्ला : हुम्ला जिल्लाबाट प्रतिनिधि तथा प्रदेश सभामा प्रतिनिधित्व गर्ने नव निर्वाचित सदस्यहरूको घोषणा र प्रमाणपत्र वितरण गर्ने कार्य भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले एक कार्यक्रम आयोजना गरेर सो कार्यक्रम गरेको हो । मुख्य निर्वाचन अधिकृत दिलप्रसाद सापकोटाले प्रतिनिधि सभामा छिरिङ डम्डुुल लामा ( कार्चेन) र प्रदेश सभा […]

सम्बन्धित