बाँकेका स्थानीय तहद्वारा तलब भत्तामा १० करोड स्वाहा

सदरलाइन संवाददाता २३ श्रावण २०७९, सोमबार १३:५०
 

नेपालगञ्ज : बाँकेका स्थानीय तहले आफूखुशी अस्थायी दरबन्दी कायम गरी करारमा कर्मचारी भर्ना गरेर तलब भत्तामा झण्डै १० करोड खर्च गरेका छन् ।

महालेखा परीक्षक कार्यालयको ५९ औं प्रतिवेदनअनुसार आर्थिक वर्ष ०७७/०७८ मा जिल्लाका आठवटा पालिकाले खर्च गरेको उक्त रकम मध्य ५ करोड ३४ लाख ६८ हजार ९१७ रुपैयाँ अनियमित खर्च हो ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ मा आफ्नो अधिकार क्षेत्र र कार्यबोझ विश्लेषण गरी संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षण प्रतिवेदनका आधारमा स्थायी प्रकृतिको कामका लागि अथवा सेवा करारबाट लिइने कर्मचारीको दरबन्दी प्रस्ताव गर्नुपर्ने व्यवस्था छ । तर जिल्लाका स्थानीयतहले मनलाग्दी रुपमा कर्मचारी भर्ना गरी खर्च गरेको महालेखाले आफ्नो् प्रतिवेदनमा उल्लेख गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाले विभिन्न पदमा १ सय ७८ कर्मचारी करारमा भर्ना गरी १ करोड ५० लाख ८ हजार ९३५ रुपैया खर्च गरेको छ । उक्त खर्च भएको रकम अनियमित देखिएको महालेखाको प्रतिवेदनले औल्याएको छ ।

उपमहानगरले कार्य व्यवस्थापनका दृष्टिकोणले महत्वपुर्ण मानिएका ईन्जीनियर, जनस्वास्थ्य अधिकृतसहित पदहरु रिक्त रहेकोमा करारबाट पदपुर्ति गरेको छ । दरबन्दी बमोजिम जनशक्तीको पुर्णता नहुँदा विषयगत कार्यक्रम सञ्चालन, सेवा प्रवाह तथा पालिकाको समग्र कार्य सम्पादनमा असर परेको भन्दै महालेखाले रिक्त पदहरु यथासक्य पदपुर्ति गरी सेवाप्रवाह सहज बनाउन सुझाएको छ ।


प्रतिवेदन अनुसार कोहलपुरमा महत्वपुर्ण विभिन्न पदमा करारमा कर्मचारी राखी १ करोड ४९ लाख ९३ हजार भुक्तानी गरेको, खजुराले ५५ जना करारमा राखी १ करोड ४६ लाख ८७ हजा ९३२ खर्च गरेको र डुडुवामा ३७ कर्मचारी करारमा राखि ८६ लाख २ हजार खर्च लेखेको अनियमित देखिएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन विपरित जानकी गाउँपालिकाले ईन्जिनियर लगायत विभिन्न पदमा ५८ कर्मचारी करारमा भर्ना गरी १ करोड ३९ लाख ७३ हजार १५० रुपैया खर्च गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । उक्त ऐनको दफा ८३ (८) मा पालिकाले नगरप्रहरी, सवारीचालक, सयश, कार्यालय सहयोगी, प्लम्बर, इलेक्ट्रिसियन, चौकीदार, माली, बगैचेलगायतका पदमा मात्र करारबाट सेवा लिन सकिने उल्लेख छ ।

तर जानकी गाउँपालिकाले आवश्यक्ता आकलन बेगर २९ जना करार नियुक्त गरी बर्षभरीमा खर्च गरेको ७६ लाख ७ हजार ५० रुपैया अनियमित देखिएको महालेखाले प्रतिवेदनमा औल्याएको छ ।

त्यस्तै बैजनाथ गाउँपालिकाले विभिन्न पदमा ७३ जना कर्मचारी करारमा भर्ना गरी १ करोड ६५ लाख ९८ हजार रुपैया खर्च गरेको छ । करारबाट सेवा लिन सकिने बाहेक कार्यालयको आवश्यक्ता आकलन बेगर १२ जना करार नियुक्त गरी बर्षभरीमा ३९ लाख ४५ हजार ७६० रुपैयाँ अनियमित देखिएको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै जिल्लाको नरैनापुर गाउँपालिकाले ६८ जना कर्मचारी राखी १ करोड ३३ लाख १९ हजार ११२ रुपैयाँ खर्च गरेकोमा करारबाट सेवा लिन सकिने बाहेक ११ जना कर्मचारी राखी २१ लाख २४ हजार २४० भुक्तानी गरेको अनियमित देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा कोरोनाका ९ संक्रमित थपिए

२३ श्रावण २०७९, सोमबार १३:५०
नेपालगञ्ज : बाँकेमा सोमवार ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका मध्ये बाँकेका ८ जना छन् । १ जना बाहिरी जिल्लाका हुन् । भेरी अस्पतालमा २१ वटा नमुना जाँच गर्दा ८ जना र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जिल्ला […]