सदरलाइनडटकम,
रुकुम : रुकुम पश्चिममा एक व्यक्तिले आफ्नै श्रीमती र छोराको हत्या गरेका छन् । त्रिवेणी गाउँपालिका १ बल्लेजुराका ४९ वर्षीय सत्तबहादुर बुढाले ४२ वर्षीया श्रीमती इन्द्रकला बुढा र ११ वर्षीय छोरा स्वयमप्रकाश बुढाको हत्या गरेका हुन् ।
बुढाले शनिवार राती २ बजे श्रीमती इन्द्रकलालाई भरुवा बन्दुकले गोली हानी र छोरा स्वयमप्रकाशलाई खकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
स्थानीयले खबर गरेपछि घटनास्थलमा पुग्दा आमाछोरा हत्या गरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए । बुढाले श्रीमती र छोराको हत्यापछि आत्महत्याको प्रयास गरेको उनले बताए । बुढाले आफ्नै घाँटीमा खुकुरी प्रहार गरेको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।
बुढाले मदिरा सेवन गरी श्रीमती र छोराको हत्या गरेको बुझिएको र अनुसन्धान शुरु गरिएको खड्काको भनाई छ । बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीयवासीले भने बुढा मानसिकरुपमा स्वस्थ नरहेको बताएका छन् ।