कोहलपुरको ग्रीनबेल्टमा रुख काटिएपछि सर्वत्र आलोचना

सदरलाइन संवाददाता १७ श्रावण २०७९, मंगलवार १३:४६
 

नेपालगञ्ज : बाँकेको कोहलपुरमा वयश्क रुख फेदबाट नै काटिदिएपछि सर्वत्र आलोचना भएको छ ।

कोहलपुर नगरपालिका वडा नम्बर ११ मा धिताल पेट्रोल पम्प अगाडि ग्रिन बेल्टमा सितलचिनीका रुख फेदबाटै काटिदिएपछि वडा अध्यक्ष कल्पना शर्माको सर्वत्र आलोचना भएको हो । स्थानीयले वडा अध्यक्षकै निर्देशनमा रुख काटिएको आरोप लगाएका छन् ।

कोहलपुरका नगर प्रमुख पूर्णप्रसाद आचार्यले फेदबाटै रुख काट्नु गलत भएको बताए । “हामीलाई कुनै जानकारी नदिई रुख काट्ने निर्देशन दिएको पाइयो, रुखको काटछाँट जरुरी थियो तर फेदैबाट काट्नु गलत हो,“ नगर प्रमुख आचार्यले भने ।


“स्थानीय सरकारले ग्रिन कोहलपुर क्लिन कोहलपुरको नारा दिने तर वडा अध्यक्षले रुख काट्दै हिँड्ने सरासर गलत हो, यसमा स्थानीयले समेत आपत्ति प्रकट गरिरहेका छन्,“ आचार्यले बताए । ठूलो भएको हाँगालाई काटछाँट गर्नुपर्नेमा जरैदेखि काट्नु सरासर गलत भएको नगर प्रमुख आचार्यको प्रतिक्रिया छ ।

तर, वडा अध्यक्ष शर्माले आफूले जानाजान त्यसो नगरेको प्रतिक्रिया दिइन् । “ग्रिन बेल्टमा भएको फोहर सफा गर्न र ठूला भएका हाँगा काटछाँट गर्न भनेको हो, दुई वटा रुख पहिले नै काटछाँट गरेको देखेपछि सरसफाईकर्मीले फेदबाट नै काटिदिएछन्, यसमा अन्यथा केही पनि होइन,“ शर्माले भनिन–“यो बिषयलाई बढी उछालिएको मात्र हो, मैले रुख काट्न निर्देशन दिने कुरै आउँदैन, भूलबस सरसफाईकर्मीले रुख काटे, तर, जानाजान वा निर्देशन दिइएको भन्ने कुरा गलत हो ।“

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पहिरोमा पुरिएर एकै घरका ५ जनाको मृत्यु

१७ श्रावण २०७९, मंगलवार १३:४६
नेपालगञ्ज : म्याग्दीको मालिका गाउँपालिका–२ रुम तामिङमा मंगलबार बिहान पहिरो जाँदा एउटा परिवारका सबै सदस्यको मृत्यु भएको छ । ३७ वर्षीय घामबहादुर बिक, उनकी श्रीमती ३२ वर्षीया राममाया बिकसँगै ८ वर्षीया छोरी रोजी, छोराहरु १३ वर्षका राजन र १५ वर्षका नविनको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी […]