भेरी अस्पतालमा स्वास्थ्य बीमा लिने सेवाग्राही ह्वात्तै बढे

सदरलाइन संवाददाता १० श्रावण २०७९, मंगलवार १४:०८
 

नेपालगञ्ज : सरकारले स्वास्थ्य बीमा कार्यक्रम निजी अस्पताल तथा मेडिकल कलेजमा बन्द गरेपछि बिरामीको चाप सरकारी अस्पतालमा ह्वात्तै बढेको छ । सरकारले साउन १ गतेदेखि निजी अस्पताल तथा मेडिकल कलेजमा बीमा कार्यक्रम बन्द गरेको थियो ।

निजी तथा मेडिकल कलेजमा बीमा कार्यक्रम बन्द भएपछि पश्चिम नेपालको सबैभन्दा ठूलो रेफरल भेरी अस्पताल नेपालगञ्जमा स्वास्थ्य बीमा लिने बिरामीको संख्या अहिले तीन गुणाले बढेको स्वास्थ्य बीमा काउण्टरकी मञ्जु चौधरीले बताइन् ।

साउन अन्तिम सातासम्म बीमा सेवा लिन अस्पताल आउनेको संख्या ८०–९० जनाको हाराहारीमा हुने गरेको थियो । तर साउनको पहिलो सातादेखि यो संख्या बढेर तीन सयदेखि चार सयसम्म पुगेको उनको भनाइ छ ।


स्वास्थ्य बीमा सेवा लिने बिरामीको संख्या बढेपछि अस्पताललाई व्यवस्थापन गर्न मुश्किल पर्न थालेको छ । बीमा सेवा लिन घण्टौं लाइन लागेर उभिनु परेको लाभग्राहीहरुको दुखेसो छ । चर्को गर्मीमा घण्टौं लाइन लागेर उभिनु पर्दा बिरामीले थप सास्ती खेप्नु परेको लाभग्राहीहरुको गुनासो छ ।

अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले सरकारले निजी तथा मेडिकल कलेजमा बीमा कार्यक्रम बन्द गरेपछि सरकारी अस्पतालमा जनशक्ति थप्नु पर्ने बताए । जनशक्ति नथप्दा त्यसको मारमा बिरामी पर्ने गरेको उनको भनाइ छ ।

भेरी अस्पतालमा स्वास्थ्य बीमा सेवा लिन विहान ९ बजेदेखि १२ बजेसम्म ओपीडीका लागि पर्चा काट्ने समय छुट्याइएको छ । त्यस्तै इमरजेन्सी सेवाका लागि मध्यान्ह १२ बजेदेखि बेलुका साढे ५ बजेसम्मको समय निर्धारण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा बालबालिकालाई खोपको दोस्रो मात्रा लगाउन शुरु

१० श्रावण २०७९, मंगलवार १४:०८
नेपालगञ्ज : बाँकेमा मंगलवारदेखि ५ देखि ११ वर्षसम्म उमेर समूहका बालबालिकालाई फाइजर खोपको दोस्रो मात्रा लगाउन शुरु गरिएको छ । गएको असार ९ गतेबाट १२ गतेसम्म खोपको पहिलो मात्रा लगाएका बालबालिकाहरुलाई आजदेखि फाइजरको दोस्रो मात्रा लगाउन शुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत नरेश श्रेष्ठले जानकारी दिए । बाँकेमा ७६ […]