नेपालगञ्ज : बाँकेको १७ हजार हेक्टर जमिनमा सिक्टाको पानी पुगेको छ । राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइ आयोजनाको पश्चिमी नहर र पूर्वी नहरको केही क्षेत्रमा पानी दिएपछि अहिले सो नहरकै कारण १७ हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको सिक्टा सिँचाइ आयोजना नेपालगञ्जका निर्देशक डा.सन्तोष कैनीले जानकारी दिए ।
उनले आयोजनाको नहरमा पानी छोडिएपछि बाँके जिल्लाको १७ हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको र ती क्षेत्रमा केही समयअघिदेखि नै धमाधम रोपाइँ भइरहेको बताए ।


अहिले यस क्षेत्रका अधिकांश किसानले वर्षा नकुरेर नै खेती गरिरहेको आयोजनाले जनाएको छ । अहिले सिक्टाको नहरमा १० क्युबेक पानी छोडिएको छ । सो आयोजनाको निर्माण कार्य आव २०६३–०६४ देखि शुरु भएको थियो ।
बाँकेको अगैयामा राप्ती नदीमा बाँध निर्माण गरी बनाइएको सिक्टा सिँचाइ आयोजनाबाट ४२ हजार ७६६ हेक्टर भूमिमा भरपर्दो सिँचाइका लागि पानी उपलब्ध गराउने उद्देश्य रहेको छ ।