कोहलपुरका मेयर रावतले सार्वजनिक गरे आफ्ना कार्यकालका उपलब्धिहरु

सदरलाइन संवाददाता ६ जेष्ठ २०७९, शुक्रबार २०:३२
 

कोहलपुर (बाँके) :  बाँकेको कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतले आफ्नो कार्यकालको उपलब्धिका बारेमा पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन ।

नगर विकासको भवनमा पत्रकार सम्मेलनको आयोजना गरी भावुक हुँदै उनले कोहलपुरका जनता प्रति आफू सधै आभारी रहने प्रतिबद्धता जनाउदै कोहलपुरको विकासको लागि आफ्नो योगदान आवश्यक भए तत्पर रहने बताए ।

‘मलाई तीन–तीन अबधी जनप्रतिनिधि भएर कोहलपुरको विकास निर्माणको जिम्मा लगाउनु भयो मैले मेरो ब्रहमले जानेको सकेको गर’–भावुक हुँदै उनले भने–‘ कोहलपुरको लागि अझै पनि सकेको गर्ने छु । सधै कोहलपुरका जनता प्रति अभारी रहने छु ।’

उनले कोहलपुरमा आफु गाविस अध्यक्ष २ पटक र एकपटक मेयर भएर विभिन्न आरोह अवरोध झेल्दै जनताको सेवा गरेर विकासको गोरेटो खोलेको बताउदै आउने जनप्रतिनिधिले कोहलपुरको विकासको लागि आफ्नो सल्लाह सुझाव आवश्यक ठानेमा तत्पर रहने प्रतिबद्धता जनाए ।

नगरपालिकामा प्रथम जननिर्वाचित प्रतिनिधि कार्यकाल (२०७४–२०७९) मा भएका क्षेत्रगत मुख्य उपलब्धिहरू यस प्रकार रहेका छन् 

१. सेवा प्रवाह संस्थागत विकास र सुशासन : 
नगरपालिकाको संगठन तथा व्यवस्थापन अध्ययन सर्वेक्षण O&M Survey बमोजिम दरबन्दी सिर्जना एवम् जनशक्ति व्यवस्थापनको कार्य सम्पन्न गरी प्रभावकारी सेवा प्रवाह गरिएको ।
नगर तथा वडाबाट प्रदान गरिने सबैजसो सेवा प्रवाह सर्वसुलभ बनाउन टोकन प्रणाली, सेवाग्राहीकक्ष लगायतका भौतिक संरचनाहरु निर्माण गरी सेवाग्राही मैत्री बनाईएको छ ।
नगरपालिकाका सबै सूचनाहरु नगरको वेबपेजमा राखिएको । साथै नगर तथा वडाबाट हुने कामहरुलाई अनलाइन प्रविधिमा आधारित बनाइएको ।
सार्वजनिक सुनुवाइ, सार्वजनिक परीक्षण, योजना सूचना पाटी, सामाजिक परीक्षण, नियमित अनुगमन, मूल्याङ्कन, चौमासिक, अर्धवार्षिक र वार्षिक समीक्षा तथा गुनासो सुनुवाई लगायतका कार्य गरी नगरपालिकालाई सुशासनयुक्त नगरको रुपमा विकास गरिएको ।
नगरको आन्तरिक आयलाई करिब २०० प्रतिशतले बृद्धि गरिएको ।

२. शिक्षा

कोहलपुर नगरपालिकाको शिक्षा ऐन, नियमावली र विविध कार्यविधिमार्फत नीतिगतरुपमा शैक्षिक गतिविधि सञ्चालन गरिएको ।नगरपालिकाभित्र शिक्षक दरबन्दी मिलानको कार्य सम्पन्न भइ दरबन्दी झिकिएको विद्यालयमा नगरपालिकाको तर्फबाट मावि. तहमा २०. निमावि तहमा १७ र प्रावि. तहमा २ जना गरी जम्मा ३९ शिक्षक नगर अनुदानबाट व्यवस्थापन गरिएको ।
नगर क्षेत्रका सबै सामुदायिक विद्यालयहरुमा सूचना तथा सञ्चार प्रविधिको पहुँच विस्तार गरिएको ।
सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत सबै शिक्षकशिक्षिका, कर्मचारी तथा विद्यार्थीहरुलाई कोभिड–१९ बिरुद्धको खोप लगाइएको ।
नगरपालिकाको समग्र शैक्षिक गतिविधि समेटेर शैक्षिक झलक, ब्रोसर तथा क्यालेन्डर प्रकाशन गरिएको ।
बाल विकास केन्द्रहरुलाई प्राथमिकतामा राखी बाल विकास केन्द्रहरुको स्तरोन्नति तथा नमुना बाल विकास केन्द्र निर्माणका लागि तालिम, पूर्वाधार विकास र शैक्षिक सामग्रीव्यवस्थापन गरिएको ।
साविक स्रोत केन्द्रलाई शिक्षक केन्द्रमा रुपान्तरण गरी विषयगत सिकाइ केन्द्रका गतिविधिहरु अघि बढाइएको ।
बाल विकास शिक्षकहरुको अनुपात मिलाउन दरबन्दी मिलानको कार्य अघि बढाइएको ।
बाल विकास शिक्षक तथा विद्यालय कर्मचारीहरुलाई नेपाल सरकारले तोकेअनुसारको सेवा सुविधा प्रदान गरिएको ।
सामुदायिक तथा संस्थागत साझेदारीअनुरूप नगरपालिकाले बजेट तथा कार्यक्रम लागु गरिएको ।
सबै सामुदायिक विद्यालयहरूमा सूचना तथा प्रविधिको पहुँच विस्तार गरिएको ।
जिल्लामै प्रथम साक्षर नगरपालिका घोषणा भई जिल्ला समन्वय समिति बाँके बाट रु. ५० लाख पुरस्कार प्राप्त गरेको ।
पालिकाको अनुदानमा एकजना छात्र र एकजना छात्रा गरि दुईजना विद्यार्थीलाई एमबीबिएस. अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिएको ।
IEMIS लाई अनुदान निकांसा तथा परीक्षा सञ्चालनको महत्वपूर्ण माध्यमका रुपमा प्रयोग गरिएको ।
खेलकुद विकासका लागि नगरस्तरीय खेलकुद विकास समिति गठन गरी सोमार्फत मेयरकप रनिङ शिल्ड खेलकुद प्रतियोगिता तथा उपमेयर कप छात्रा क्रिकेट प्रतियोगिता सम्पन्न गरिएको ।
सूचना तथा सञ्चार प्रविधियुक्त शिक्षकसँग मेयर कार्यक्रम अन्तरगत शिक्षकको ५० प्रतिशत लागत साझेदारीमा ल्यापटप वितरण कार्यक्रम सञ्चालन गरिएको ।
विद्यालय दिवा खाजा कार्यक्रम प्रभावकारीरुपमा कार्यान्वयन गरिएको ।
शिक्षकहरुलाई सूचना प्रविधि क्षमता विकास तालिम सञ्चालन गरी विद्यालयहरुमा सूचना प्रविधि पहुँच विस्तार गरिएको ।
अपाङ्गता भएका विद्यार्थीहरुको लागि छात्रवृति तथा सहयोगी सामग्री वितरण गरिएको ।
पाचँवटा विषयगत शिक्षक सिकाई केन्द्रहरुको स्थापना र कार्यान्वयन गरिएको ।
सबै आधारभूत विद्यालयहरुमा कम्प्यूटर वितरण गरिएको ।
विद्यालय अनुगमन तथा प्रतिवेदनका आधारमा विद्यालय सञ्चालन र पठनपाठनसम्बन्धी नीतिहरु बनाइएको ।
एक विद्यालय, एक प्राविधिक शिक्षा कार्यक्रमअन्तर्गत लक्ष्मी मावि.बर्दहवामा कृषि, ज्ञानज्योति मावि. चप्परगौडीमा ३ वर्षे इन्जिनियरिङ र त्रिमावि. मा ३ वर्षे सूचना प्रविधि (IT) विषयमा अध्ययन कार्यक्रम सञ्चालन गरिएको ।
यस अवधिमा १६ वटा नयाँ भवन निर्माण, सबै विद्यालययमा खानेपानी, शौचालय, कम्पाउण्ड वाल निर्माण र जिर्ण टिनको छाना मर्मत सम्भार गरी शैक्षिक पूर्वाधारको विकास र सुधार भएको ।
बागेश्वरी बहुमुखी क्याम्पसमा शौचालय, लाईब्रेरी स्थापनालगायत अन्य पूर्वाधार निर्माणमा सहयोग गरिएको ।
नगर क्षेत्रभित्रका सबै संस्थागत विद्यालयहरुको वर्गीकरण गरी नियमन र व्यवस्थापन गरिएको ।
त्रिभुवन माविलाई नमूना माध्यमिक विद्यालयको रूपमा विकास गरिएको ।
सबै माध्यमिक विद्यालयहरूमा आवश्यक पूर्वाधारसहित विज्ञान प्रयोगशालाको निर्माण गरिएको ।
साविकको स्रोत केन्द्रलाई शिक्षक केन्द्रमा रुपान्तरण गरिएको ।
सबै सामुदायिक विद्यालयमा तहगत प्रधानाध्यापकको नियुक्ति र व्यवस्थापन ।


३. स्वास्थ्य 
नेपाल सरकारले तोके बमोजिमको निःशुल्क औषधि व्यवस्थापन एवम् वितरण ।
समुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई निःशुल्क स्यानिटरी प्याडको व्यवस्थापन ।
११ वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन निर्माण सम्पन गरी प्रर्याप्त जनशक्तिको व्यवस्थापनसहित सबै आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराइएको ।
’ख’ वर्गको एम्बुलेन्स सेवा तथा १५ शैयाको नगर अस्पताल पर्याप्त जनशक्ति तथा उपकरणसहित सञ्चालन गरिएको ।
गर्भवती, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक, सर्पदंश र कुकुरले टोकेका नगरवासीलाई निःशुल्क एम्वुलेन्सको व्यवस्था गरिएको ।
कोभिड–१९ को पहिलो, दोस्रो र तेस्रो भेरियन्टको रोकथाम तथा व्यवस्थापनका लागि आईशोलेसन सेन्टर, क्वारेन्टाइन, निःशुल्क पिसिआर तथा आरडिटी परीक्षण, कोभिड अस्थायी अस्पताल सञ्चालन र निःशुल्क शबवाहनको व्यवस्था गरिएको ।
सबै नगरवासीलाई कोभिड–१९ को विरुद्धको खोप लगाइएको ।
पूर्णखोपयुक्त नगरपालिका घोषणा गरिएको ।
आमा सुरक्षा कार्यक्रम नेपालगन्ज मेडिकल कलेजसँगको सहकार्यमा सञ्चालन ।
थारु समुदायमा रहेको सिकलसेल एनिमिया तथा थालेसेमिया रोगको रोकथाम तथा उपचारका लागि आवश्यक जनशक्तिसहित सिकलसेल एनिमिया ल्याबको भवन निर्माण गरी सञ्चालन गरिएको ।
यस अवधिमा करिब १०,००० (दश हजार) नमूना संकलन गरी परीक्षण गरिएको ।
स्वास्थ्यसम्बन्धी ऐन, नियम, निर्देशिका, नीति, कार्यविधि तथा मापदण्डको निर्माण ।
अति विपन्न नागरिकलाई औषधि उपचारमा सहयोग ।
नगर अस्पताल भवनको दोस्रो तल्ला निर्माण ।
महिला स्वास्थ्य स्वयम्सेविकालाई मासिक रु. २,०००÷– (दुई हजारका दरले यातायात खर्च, साइकल र चाडपर्व खर्च उपलब्ध गराइएको ।
सबै स्वास्थ्य संस्थाहरूमा औषधि, फर्निचर तथा उपकरणको प्रर्याप्त मात्रामा व्यवस्थापन महिला स्वास्थ्य स्वयम्सेविका तथा स्वास्थ्यकर्मीहरूलाई क्षमता विकास तालिम प्रदान ।
सार्वजनिक नीजि साझेदारी अवधारणामा (PPP Model) नगर क्षेत्रको फोहोर मैला व्यवस्थापन गरिएको ।

४. पूर्वाधारः
आफ्नै भवन नभएका १२ वडामा वडा कार्यालयहरूको भवन निर्माण सम्पन्न गरी सेवा प्रवाह गरिएको छ ।
नगर सभाहल र प्रशासकीय भवनको निर्माण गरी सेवा प्रवाह गरिएको ।
कोहलपुर वडा नं.११ चौराहदेखि दक्षिण पूर्वमा नगर विकास कोषको ६० प्रतिशत ऋण अनुदान र नगरपालिकाको ४० प्रतिशत लगानीमा लामो दुरीको बसपार्क निर्माण गरिएको ।
यस अवधिमा ४७ कि.मि.सडक कालोपत्रे, नगरका १५ वटै वडामा रहेका २५० कि.मि.सडक तथा बाटोहरुको स्तरोन्नति, ५ कि.मि.नयाँ ट्रयाक निर्माण र १५ कि.मि. नाली निर्माण गरिएको ।

कोहलपुर ११ स्थित गोलपार्कमा कोहलपुर भ्यूटावर निर्माणको कार्य अन्तिम चरणमा रहेको ।
मुख्य–मुख्य बजार क्षेत्रका १६ स्थानमा हाइमास्ट लाइट जडान र अन्य स्थानमा सोलार तथा सडक बत्ती जडान गरिएको ।
डुडुवा र रोहिणी खोलामा करिब २ कि.मि.तटबन्धन निर्माण गरी जनधनको सुरक्षा गरिएको ।
कोहलपुर दशविगाहमा रहेको कृषि थोक हाटबजारस्थल र वडा नं. १४ हवल्दारपुरमा रहेको तरकारी बजार केन्द्रको निर्माण तथा स्तरोन्नति गरी कृषिको बजारीकरणमा सुधार गरिएको ।
रु.१ (एक) करोड रुपैयाँ लागतमा १० वटा विद्युतिय ट्रान्सफर्मर खरिद गरी सबै वडामा रहेको लो–भोल्टेजको समस्या समाधान गरिएको ।
जीर्ण पोल तथा तारहरु विस्थापन गरी नगरका सबै बस्तीमा विद्युतीकरण र विद्युत क्षमता विस्तार गरिएको ।
कोहलपुर रिङरोडको पूर्वी खण्ड अन्तर्गतको ५ कि.मि. ट्रयाक निर्माण सम्पन्न भई चालु आ.व. २०७८÷०७९ मा १ कि.मि.सडक कालोपत्रे गरिएको ।
कोहलपुर वडा नं.११ मा थारू सांकृतिक संग्राहलयको निर्माण र कोहलपुर वडा नं. २ आनन्दनगरमा दलित सांकृतिक संग्राहलय निर्माण कार्य ५० प्रतिशत सम्पन भएको ।
नगरलाई हिलोमुक्त र डुबानमुक्त नगरपालिका बनाईएको साथै कोहलपुर वडा नं. १० मा करिब २ कि.मि.ढल निर्माण गरिएको ।
२० घरधुरी आवासविहीन गन्धर्व, बादी तथा विपन्न दलित समुदायको लागि एकीकृत आवास निर्माण गरी हस्तान्तरण गरिएको ।
ईलाका प्रहरी कार्यालय कोहलपुरमा महिला बन्दी गृह निर्माण गरिएको ।
कोहलपुर वडा नं. २ स्थित १३ विगाहमा कभर्डहल र २५ बेडको बाल अस्पताल निर्माण कार्यको सुरुवात भएको ।
कोहलपुर चौराह अतिक्रमणमुक्त गरी पार्क निर्माणसहित सौन्दर्यकरण गरिएको ।
घरेलु तथा साना उद्योग महासंघ, सञ्चारग्राम, कोहलपुर र प्रतिबोध एफ.एम., पूर्णिमा साहित्य प्रतिष्ठान तथा अपाङ नवजीवन केन्द्रलाई कार्यालय निर्माणका लागि जग्गाको व्यवस्थापनसहित भवन निर्माण कार्यका लागि आर्थिक सहयोग प्रदान गरी संस्थागत विकासमा सहयोग गरिएको ।
उद्योग वाणिज्य संघ कोहलपुर र नेपाल रेडक्रस सोसाइटी कोहलपुरको भवन निर्माण लगायत पूर्वाधार निर्माणमा सहयोग ।
आधुनिक एवम् व्यवस्थित वधशाला निर्माणका लागि ठेक्का आव्हान गरिएको ।
५ वटा कल्भर्ट तथा २ वटा बक्स ब्रिज निर्माण गरिएको ।
नगरका सबै वडामा एक वडा, एक सडक कालोपत्रे योजनाको सुरुवात गरिएको ।
नगर क्षेत्रमा रहेका ठेला तथा फुटपाथ पसलहरुको व्यवस्थापन गरिएको ।
गट रभेना र शम्शेरगञ्ज खानेपानी आयोजनाको निर्माण कार्य सम्पन्न भई खानेपानी वितरणको चरणमा रहेको तथा थप ३ वटा खानेपानी आयोजनाको निर्माण कार्य सुरूवात भएको ।
सबै वडामा खानेपानी समरसेल धारा जडान गरी खानेपानीको सुविधा उपलब्ध गराईएको ।
वडा नं. ११ मा जेष्ठनागरिक दिवा सेवा केन्द्र निर्माण गरी सञ्चालन गरिएको ।
वडा नं.१३ स्थित खर्डकवारमा रहेको नमूना होम स्टे स्तरोन्नतिका लागि तालिम, सुविधा उपलब्ध गराइएको अवलोकन भ्रमण, आवश्यक सामग्री सहयोग, प्रचसामग्री र सांस्कृतिक भवन निर्माण गरी पर्यटन प्रवर्द्धन गरिएको ।
मठ मन्दिर, चर्च, गुम्बा तथा मस्जिदहरूको निर्माण, जिर्णोद्वार र मर्मत सम्भार गरिएको ।
नगरपालिकाका सबै वडाहरूमा रहेका मुख्य–मुख्य बाटोको स्तरोन्नती गरी १२ महिना आवागमन सुचारू हुने व्यवस्था गरिएको ।

५. कृषि तथा पशुपन्छी विकास :
नगरपालिकामा तरकारीमा ४० प्रतिशत, खाद्यान्नमा २० प्रतिशत र फलफूल उत्पादनमा १० प्रतिशतले बृद्धि भएको ।
च्याउको उत्पादनमा झन्डै शत प्रतिशतले बृद्धि भई च्याउमा आत्मनिर्भर भएको । साथै च्याउ ढुवानी तथा बजारीकरणका लागि नगरपालिकाको तर्फबाट ढुवानी साधन खरिदमा रु.७ लाख अनुदान प्रधान गरिएको ।
नगरमा रहेका सबै किसानलाई प्राविधिक सेवा प्रदान ।
३५०० किसानलाई प्रतिगाई भैंसी÷ प्रति बेत रू.२००० (दुई हजार) का दरले पशु सुत्केरी भत्ता वितरण गरी दुधको उत्पादनमा बृद्धि भएको । साथै नेपाल सरकारको कृषिमा बिमा कार्यक्रममा किसानको पहुँच विस्तार भएको ।
गाई, भैंसी, बङ्गुर, बाख्ना तथा कुखुराको खोर गोठ सुधारमा अनुदान प्रदान गरि पशुपंक्षीको उत्पादन र उत्पादकत्व ३० प्रतिशतले बृद्धि भएको
सिँचाईका लागि पम्पसेट, डिप बोरिङ, धारा, मोटर, सिँचाई कुलोको मर्मत सम्भार गरि कृषिको उत्पादनमा १० प्रतिशतले बृद्धि गरिएको ।
किसानलाई साना कृषि औजार, मिनिटिलर, पावर ट्रेलर, च्यापकटरलगायतका कृषि उपकरणहरु वितरण गरी आधुनिकीकरण र व्यवसायी करणमा सहयोग गरिएको ।
किसानलाई व्यावसायिक तालिम, परामर्श तथा अध्ययन अवलोकन भ्रमणको व्यवस्था गरिएको ।
पशुपालक किसानले (गाई, भैंसी, बाखा र बंगुर) बिमा प्रिमियमवापत बिमा कम्पनीलाई तिर्नुपर्ने प्रिमियममा ५० प्रतिशत अनुदान नगरपालिकाको तर्फबाट प्रदान गरी जोखिम न्यूनीकरण गरिएको ।
२६०० परिवार साना किसानलाई समेटी कृषि तथा पशु उद्यमशीलता परियोजना सञ्चालन गरि वार्षिक रु. ५० हजार आम्दानी बृद्धि गरिएको ।
पशुपंछीमा लाग्ने महामारीविरूद्वका खोपहरू निःशुल्करुपमा सबै किसानलाई उपलब्ध गराइएको ।
डेरी उद्योग, दुग्ध उत्पादक सहकारी तथा दुग्ध व्यवसायीलाई आवश्यक तालिम, प्राविधिक सेवा, घाँसको विउविजन र अनुदान प्रदान गरी उत्पादन लागत मूल्य न्यूनीकरण गरिएको ।
कृषि तथा पशुपंछी पालन सम्बन्धी नीति, कार्यविधि र मापदण्ड तर्जुमा गरिएको ।
एक वडा, एक पशुपन्छी फार्म र एक वडा, एक नमूना उत्पादन कार्यक्रमअन्तर्गत वडा नं. २ मा बाख्रापालन र वडा नं. ३ मा तरकारी खेती गर्ने उद्यमीहरूलाई प्रतिफार्म रू.५ लाखका दरले अनुदान सहयोग प्रदान गरी रोजगारी सिर्जना गरिएको ।
किसानलाई उन्नत बीउबिजन तथा मलको व्यवस्था गरिएको ।
मुख्य सहरी क्षेत्रमा करेशावारी तथा कौशी खेती कार्यक्रम सञ्चालन ।
साना पकेट क्षेत्रको विकास र विस्तार भएको जस्तै ः कोहलपुर वडा नं. १३ भरैया र १५ अकलगरुवामा तरकारी तथा कागती पकेट क्षेत्र निर्माण वडा नं. १,२,५,६ र ९ मा च्याउ, माहुरीपालन, बाख्रा विशेष, लोकल कुखुरा, हाँस, टर्की तथा बट्टाई पालन आदि ।

६. लक्षित वर्ग उत्थान :
’ग’ वर्गका नागरिकहरुका लागि जीवन निर्वाह गर्न मासिक रु.५०० (पाँच सय) का दरले आर्थिक सहयोग प्रदान गरिएको ।
सहयोगापेक्षी सडक मानवमुक्त नगरपालिका घोषणा गरीएका ।
वडा नं. १, २, ६, ११, १२ र १३ गरी जम्मा ६ वटा वडा बालविवाह मुक्त वडा घोषणा गरिएको ।
विपन्न दलित, मुस्लिम, महिला तथा आदिवासी जनजातिहरुको क्षमता विकास र आय आर्जनसम्बन्धी कामहरु गरी सामाजिक विभेद न्यूनीकरण तथा रोजगारी सिर्जना गरिएको ।
अपाङ्गता भएका नागरिकहरुका लागि सहायक सामग्री वितरण र अपाङ परामर्श केन्द्रको सञ्चालन गरी अपाङ्गता भएका नागरिकहरुलाई जीवन निर्वाहमा सहज बनाइएको ।
नगरमा हुने सबै प्रकार विभेदहरु (जातीय, धार्मिक, लैंगिक, भाषिक) को अन्त्यका लागि आवश्यक कानून तथा नीति निर्माण गरी यि वर्गको उत्थान र विकाससम्बन्धी कामहरु गरिएको ।
नगर क्षेत्रमा रहेका सबैभन्दा जेष्ठ एकजना पुरुष र एकजना महिलालाई नगर पिता तथा नगर माताको रुपमा घोषणा, जेष्ठ नागरिक सम्मान, निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचारमा सहयोग प्रदान गरिएको ।

७. कानुन तथा नीति निर्माण :
यस अवधिमा नेपालको संविधानको अनुसूची ८ र स्थानीय सरकार संचालन ऐन, २०७४ ले दिएको अधिकार क्षेत्रभित्र रही १२८ वटा ऐन, कानून, निर्देशिका तथा कार्यविधिहरु निर्माण गरी कोहलपुर नगरपालिकालाई नीतिगतरुपमा सञ्चालन गरिएको ।
नगरको प्रथम आवधिक योजना, नगर प्रोफायल तथा मध्यमकालीन खर्च संरचना तयार गरी सोही बमोजिम विकास निर्माणको कार्यलाई योजनाबद्धरुपमा अगाडि बढाइएको ।

८. वातावरण संरक्षण र विपद व्यवस्थापनः
यस अवधिमा करिब १०,००० दश हजार विरुवा नगर क्षेत्रमा वितरण तथा रोपण गरी वातावरण संरक्षण तथा हरित नगरको रुपमा विकास गर्न पहल गरिएको ।
विपद व्यवस्थापनका लागि दमकल, शबवाहन तथा एम्बुलेन्सको व्यवस्थापन गरिएको ।
साथै दमकलको सेवा छिमेकी बैजनाथ र राप्तीसोनारीमा गाउँपालिकासमेत उपलब्ध गराइएको ।
NCDR ताईवानको साझेदारीमा पूर्व सूचना प्रणाली १० स्थानमा जडान गरिएको । साथै नगरक्षेत्रमा हुने बाढी, आगलागी, डुबान, हावाहुरी, कोभिड–१९ जस्ता महामारी तथा विपदजन्य प्रकोपबाट नगरवासीलाई सुरक्षित राख्न आवश्यक पूर्वाधारसहित जनशक्ति,
अत्यावश्यक सामग्रीहरुको भण्डारण तथा विपद व्यवस्थापन कोषको स्थापना गरि राहत, पुर्नस्थापना र उद्धारको कार्य सफलतापूर्वक सम्पन्न गरिएको ।

८. भूमिहीन सुकुम्वासी समस्या समाधान तथा सार्वजनिक जग्गाको संरक्षण :
नगरपालिकामा रहेका सबै सार्वजनिक जग्गाको तथ्यांक संकलन गरी सबै सार्वजनिक जग्गाको संरक्षण गरिएको ।
१६५०० भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यस्थित बसोबासीहरुको तथ्यांक संकलन गरी १० हजारको अनलाइन तथ्याक इन्ट्री गरिएको, वडा नं.०१ र ०२ को नाप नक्शाको कार्य सम्पन्न भएको ।
कोहलपुर नगरपालिकाको सबै वडामा रहेका गाउँ ब्लक जग्गाको नाप नक्शाको कार्य सुरुवात भई गाउँ ब्लकमा बसोबास गर्ने सबै परिवारलाई लालपुर्जा वितरण गरिएको । लगायतका काम गरिएका उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा मतदातालाई धन्यबाद दिन गठबन्धनको संयुक्त र्याली

६ जेष्ठ २०७९, शुक्रबार २०:३२
नेपालगञ्ज :  गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित काँग्रेस–जसपा गठबन्धनका तर्फबाट नेपालगञ्ज उपमहानगरमा विजयी मेयर उपमेयरले नेपालगञ्जमा बिजयी र्याली निकालेका छन् । गठबन्धनबाट नेपाली कांग्रेसका नगरप्रमुखका बिजयी उम्मेदवार प्रशान्त बिष्ट र गठबन्धन कै तर्फबाट जपसाका उपप्रमुखका बिजयी उम्मेदवार कमरुद्दिन राईको संयुक्त बिजयी र्याली निकालेका हुन । नेपालगञ्जको […]