कालिकोट : कोरोना कहरको कारण बन्द रहेका विद्यालय सञ्चालनको लागि बैकल्पिक माध्याम प्रयोग गर्न थालिएको छ । कालिकोट जिल्लाको पचालझरना गाउँपालिकाले वैकल्पिक माध्यमबाट विद्यालय संचालन गर्ने भएको छ । पालिकाले जोर बिजोर प्रणाली मार्फत विद्यालय संचालन गर्ने जानकारी दिएको हो ।
मंगलबार पालिकामा बसेको शिक्षा समितिको बैठकले निषेधाज्ञाको पुर्णरुपमा पालना गर्दै भाद्र १८ गतेसम्म जोर बिजोर प्रणालीमार्फत विद्यालय खोल्ने निर्णय गरेको शाखा प्रमुख नमराज शाहीले जानकारी दिएका छन् ।
सो बैठकले गाउँपालिकाका कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीलाई विभिन्न समय र बार मिलाएर जोर बिजोर प्रणाली मार्फत कक्षा संचालन गर्ने निर्णय गरेको हो ।
शाखा प्रमुख शाहीका अनुसार शिक्षकले गृहकार्य समय मिलाएर दिने र विध्यार्थीले आफ्नो विद्यालय आउने दिनमा गृहकार्य चेकजाँच गराउने गरी वैकल्पिक माध्यमबाट विद्यार्थीलाई विद्यालयमा अध्यनको वातावरण बनाईने छ ।