साढे पाँच अर्बको लागतमा १७ पक्की पुल निर्माण गरिँदै

सदरलाइन संवाददाता १० जेष्ठ २०८०, बुधबार १३:४५
 

नेपालगञ्ज : लुम्बिनी प्रदेशमा पाँच अर्ब ५० करोड लागतमा १७ वटा पक्की पुल निर्माण भइरहेको छ । बहुवर्षीय आयोजनामध्ये तीनवटा सम्पन्न भएका छन् भने नौ वटा छिट्टै सम्पन्न हुने चरणमा रहेको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको पुल महाशाखा पुल सेक्टर नेपालगञ्जले जनाएको छ ।

पुल सेक्टरअन्तर्गत निर्माण गरिने पुलहरू कम्तीमा एक सय मिटरभन्दा लामो हुनुपर्ने नियम रहेको पुल सेक्टर नेपालगञ्जका योजना प्रमुख इन्जिनियर लीलाबहादुर भण्डारीले जानकारी दिए ।

योजना प्रमुख भण्डारीले भने, “आगामी आर्थिक वर्षदेखि बजेट कमी हुने भएकाले समयमै निर्माण सम्पन्न हुन कठिन हुने देखिन्छ । यस खालका पुल निर्माण भएपछि पाँच वर्षसम्म मर्मत सम्भारको जिम्मेवारी निर्माण व्यवसायीको हुन्छ ।”

डिजाइन एण्ड विल्डअन्तर्गत रणनीतिक सडकमा पर्ने पुलको निर्माण पुल सेक्टरले गर्दै आएको छ । जस अनुसार सडक विभागले टेण्डर आह्वान गरेपछि छनौटमा पर्ने निर्माण व्यवसायी आफैँले डिजाइन, वातावरणीय प्रभाव मूल्याङ्कनलगायतका प्रक्रिया पूरा गरी सडक विभागबाट नौ महिनाभित्र स्वीकृति लिनुपर्ने हुन्छ । त्यसपछिको जिम्मेवारी पुल सेक्टरको हुने गरेको छ ।


पुल सेक्टरका अनुसार बाँकेको राप्ती नदीस्थित मच्छेबास–धामपुर, कर्णालीको कुहिने र दाङको राप्ती नदीस्थित बेला–बनघुसरी पुलको निर्माण सम्पन्न भएका छन् । पुल सेक्टरले दिएको जानकारी अनुसार बर्दियाको मानखोला, भादामा पुल निर्माण अन्तिम चरणमा पुगेको छ ।

यसैगरी, कुसुम्बाघाटमा पनि पुल निर्माण भइरहेको छ । कपिलवस्तुमा २, अर्घाखाँचीमा २, दाङमा ३, सल्यानमा २, रुपन्देहीमा २, पश्चिम नवलपरासीमा २ र सुर्खेतमा एक पुल रहेका छन् ।

पुल सेक्टर नेपालगञ्जको कार्यक्षेत्र नेपालगञ्ज रहेपनि कर्णालीका सुर्खेत र सल्यानमा पुराना आयोजना भएका कारण नेपालगञ्ज कार्यालयको कार्यक्षेत्रमा परेका हुन् । पुल सेक्टरले नयाँ पुल निर्माणसहित पुराना पुल मर्मतसम्भार र रङ्गरोगनको काम समेत गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णालीको चिस्यान केन्द्र विद्युत् अभावले बन्द

१० जेष्ठ २०८०, बुधबार १३:४५
सुर्खेत : सुर्खेतको भेरीगङ्गामा निर्माण गरिएको चिस्यान केन्द्र विद्युत् अभावले बन्द भएको छ । दुई सय मेट्रिक टन क्षमताको चिस्यान केन्द्र दुई वर्ष जेनतेन चलेको थियो । आर्थिक वर्ष २०७३।७४ देखि निर्माण शुरु गरिएको कोल्ड स्टोर आव २०७७।७८ बाट आंशिक सञ्चालनमा ल्याइएको थियो । तीन करोड लगानीमा निर्माण गरिएको चिस्यान […]

सम्बन्धित