बिहीवारदेखि नयाँ वर्ष २०७९ साल शुरु

सदरलाइन संवाददाता १ बैशाख २०७९, बिहीबार १५:५०
 

नेपालगञ्ज : बिहीवार विक्रम संवत् २०७९ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन । बिहीवार सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो ।

नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन बिहीवार नेपालमा र विदेशमा रहेका नेपालीले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । यस्तै, आजका दिन योजना बनाउने र कुनै काममा सफलता पाउनका लागि सङ्कल्प गर्ने चलन समेत रहेको छ ।

यस दिन नयाँ कामको थालनी गर्ने परम्परा पनि रहेको छ । धेरैले गएको वर्ष गरेका कामको सफलतारअसफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवम् सङ्कल्प गर्ने गर्दछन् ।

बिहानै स्नान गर्ने, घर, कोठा–आँगन सफा गर्ने, तथा आफन्त, परिवार र साथीभाइसँग भेटघाट गर्दै मिस्ठान्न भोजन बनाएर खाने चलन छ । नयाँ वर्षका अवसरमा बिहीवार सार्वजनिक बिदा दिइएको छ ।

नयाँ वर्षको अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले विगतको कठोर अनुभवबाट शिक्षा लिएर आउँदो यात्रा तय गर्न आवश्यक रहेको बताएकी छन् ।


हरेक वर्ष बढिरहेको व्यापार असन्तुलन कम गर्न स्वदेशी उत्पादनलाई बढावा दिनुका साथै उद्यमशीलता प्रवर्द्धन गरी राष्ट्रिय पुँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्नेमा उनको जोड छ ।

यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले पनि गएको वर्षको अनुभवलाई शिक्षाका रुपमा लिइ नयाँ वर्षमा नयाँ जोस, नयाँ उमङ्ग र नयाँ उत्साहका साथ आआफ्नो कार्यक्षेत्रमा जुट्दै राष्ट्रको नवनिर्माण, समृद्धि र सुशासनका लागि जुट्न आग्रह गरेका छन् ।

समस्त नेपालीको जीवनलाई थप उन्नत र समृद्ध बनाउनु सबैको सर्वेपरि लक्ष्य रहेको भन्दै उहाँले यस साझा लक्ष्यलाई प्राप्त गर्न सबै नेपालीबीच एकता, पारस्पारिक मेलमिलाप, भाइचार र सौहार्दपूर्ण भावनालाई अभिवृद्धि गर्दै अघि बढ्नुपर्ने बताए ।

नयाँ वर्षका अवसरमा सभामुखलगायत अन्य राजनीतिक दलका शीर्ष नेताहरुले पनि शुभकामना दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लागूऔषधसहित सुर्खेतमा तीन जना पक्राउ

१ बैशाख २०७९, बिहीबार १५:५०
सुर्खेत : सुर्खेतको वीरेन्द्रनगरबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । वीरेन्द्रनगर नगरपालिका–९ मा पर्ने काँक्रेविहार क्षेत्रबाट विभिन्न समयमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरीक कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर–९ को फुलबारी टोल स्थित फुटबल ग्राउण्डमा शंकास्पद रुपमा हिडिँरहेको अवस्थामा पक्राउ परेका छन् । बुधबार बेलुका वीरेन्द्रनगर नगरपालिका–३ […]