नेपालगञ्ज : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपाका महामन्त्री धवल शम्शेर राणाबीच भेटवार्ता भएको छ । नेपालगञ्जको स्नेहा होटलमा बिहीवार राती ओली र राणाबीच भेटवार्ता भएको हो ।
भेटमा समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको थियो । अध्यक्ष ओली र महामन्त्री राणाबीच समसामयिक राजनीतिक परिस्थिति र वैशाखमा हुने स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल भएको बताइएको छ ।
‘स्थानीय चुनावमा तालमेल गरेर जाने विषयमा पनि प्रारम्भिक छलफल भएको छ,’ राप्रपाका सहमहामन्त्री ऋषि देवकोटाले भने– ‘एमाले र राप्रपाबीच भेटघाट, छलफल र संवाद गर्दै जाने भन्ने कुरा भएको छ ।’
स्थानीय तहको निर्वाचनको सरगर्मी बढ्दै जाँदा एमाले अध्यक्ष ओली र राप्रपा महामन्त्री राणाबीचको भेटलाई अर्थपूर्ण ठानिएको छ ।
नेपालगञ्जका मेयर समेत रहेका महामन्त्री डा.राणाले पाँच दलिय गठबन्धनका कारण आफुहरु पनि गठबन्धन गरेरै जानु पर्ने अवस्थामा पुगेको बताए ।