नेपालगञ्ज : बाँके कुष्ठरोगको उच्च जोखिममा देखिएको छ । सरकारले १२ बर्षअघि नै नेपालमा कुष्ठरोग निवारण घोषणा गरेपनि बाँके भने अहिलेपनि कुष्ठरोगको उच्च जोखिममा देखिएको छ ।
कुष्ठरोग जोखिमको हिसावले बाँके देशकै दोस्रो स्थानमा छ । लुम्बिनी प्रदेशको कपिलबस्तु जोखिमको हिसावले पहिलो स्थानमा छ । प्रति १० हजारमा एकजना भन्दा कम भए निवारण भएको मानिन्छ ।
तर बाँकेमा प्रति १० हजारमा १ दशमलव ५९ मा कुष्ठरोगको संक्रमण देखिएको छ । चालू आर्थिक वर्षको ६ महिनामा मात्रै बाँकेमा कुष्ठरोगीका ४४ जना फेला परेका छन् । स्वास्थ्य कार्यालय बाँकेका कुष्ठरोग फोकलपर्सन मानव नेपालीका अनुसार आठवटा पालिकामा ४४ जना नयाँ कुष्ठरोगी फेला परेका हुन् ।
सबैभन्दा धेरै नेपालगन्ज र कोहलपुरमा कुष्ठरोगी छन् । नेपालगन्ञ्मा १३ जना, कोहलपुरमा ११ जना जानकी गाउँपालिकामा ६ जना, बैजनाथ र नरैनापुर गाउँपालिकामा ५–५ जना, खजुरामभा ३, जना र डुडुवामा १ जना कुष्ठरोगी फेला परेका छन् । राप्तीसोनारी गाउँपालिकामा भने कुष्ठरोगी फेला नपरेको फोकलपर्सन नेपालीले बताए ।
कुष्ठरोगीको पहिचान र उपचार निःशुल्क हुने भएकाले उपचारको पहुँचमा आउन उनले सबैलाई आग्रह गरे । गएको वर्ष बाँकेमा १२८ जना कुष्ठरोगी फेला परेका थिए ।