प्युठानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु

सदरलाइन संवाददाता २२ माघ २०७८, शनिबार १३:३८
 

नेपालगञ्ज : प्युठानमा बेहुला बेहुलीसहित जन्ती बोकेको जीप दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी एकै परिवारका श्रीमान, श्रीमती र छोरीको मृत्यु भएको छ ।

गौमुखी गाउँपालिका–६ जिनाबाङका ३९ वर्षीय वसन्त खड्का, उनकी ३९ वर्षीया श्रीमती वसन्ती खड्का र उनीहरुकी ११ वर्षीया छोरी एलिसा खड्काको मृत्यु भएको गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णु गिरीले जानकारी दिए ।

२९ वर्षीया केशरी खड्का, गाडी चालक ५० वर्षीय बलबहादुर बुढा मगर, ३२ वर्षीय खिम खत्री र ५० वर्षीया नन्दी खड्का र नौ बाहिनी ६ लुङकी १८ वर्षीया विपना जिसीको पनि दुर्घटनामा परी मृत्यु भएको छ ।

अध्यक्ष गिरीका अनुसार दुर्घटनामा परि बेहुला २५ वर्षीय दानबहादुर खड्का, बेहुली १९ वर्षीया रीमा जिसी, २१ वर्षीय हरि बुढा मगर, १७ वर्षीय नरेश खड्का र २५ वर्षीया साबित्रा जिसी घाइते हुनुभएको छ । घाइतेमध्ये बेहुलीसहित तीन जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते बेहुलीसहित तीन जनालाई बुटवल रेफर गरिएको छ ।


बेहुला दानबहादुर खड्का र साबित्रा जिसीको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ । अध्यक्ष गिरीले रातीको समयमा दुर्घटना हुनु, उद्धारमा ढिलाई हुनु जस्ता कारणले धेरै घाइतेको मृत्यु भएको बताए ।

प्यूठानका प्रहरी प्रमुख सत्यनारायण थापाका अनुसार घटनास्थल विकट भएको र रातीको समय भएकाले मानवीय क्षति बढी भएको जानकारी दिए । नौबहिनी गाउँपालिकाको लुङ बाउनेबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जिप ओखरपाटामा शुक्रवार राती दुर्घटनामा परेको थियो ।

जीप सडकदेखि १५० मिटर तल खोल्सामा खसेको छ । रातभर पानी परेको र बाटो चिफ्लो भएका कारण दुर्घटनामा परेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेका क्रसर तथा बालुवा प्रशोधन उद्योग मापदण्ड विपरीत

२२ माघ २०७८, शनिबार १३:३८
नेपालगञ्ज : बाँकेमा सञ्चालित क्रसर तथा बालुवा प्रशोधन उद्योगहरु मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएको छ । नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिको अनुगमन उपसमितिले तयार पारेको प्रतिवेदनअनुसार जिल्लाका १८ वटा क्रसर तथा बालुवा प्रशोधन उद्योगले मापदण्ड पालना नगरेको भेटिएको हो । बाँकेमा २३ वटा क्रसर तथा बालुवा प्रशोसधन उद्योग […]