नेपालगञ्ज : बाँकेमा सञ्चालित क्रसर तथा बालुवा प्रशोधन उद्योगहरु मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएको छ । नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिको अनुगमन उपसमितिले तयार पारेको प्रतिवेदनअनुसार जिल्लाका १८ वटा क्रसर तथा बालुवा प्रशोधन उद्योगले मापदण्ड पालना नगरेको भेटिएको हो ।
बाँकेमा २३ वटा क्रसर तथा बालुवा प्रशोसधन उद्योग छन् । तीमध्ये पाँचवटा बन्द अवस्थामा छन् । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरिचन्द्र शर्माको संयोजकत्वमा जिल्ला समन्वय समितिका नासु बुद्धिमान विष्ट र सडक पूर्वाधार विकास कार्यालयका सवइन्जिनियर प्रेम बराल सदस्य रहेको उपसमितिले स्थलगत अनुगमन गरेर प्रतिवेदन तयार पारेको हो ।
उक्त प्रतिवेदनले क्रसर र बालुवा प्रशोधन उद्योगहरुले ढुंगा, गिट्टी, बालुवा उत्खन्न् विक्री तथा व्यवस्थापनसम्बन्धि मापदण्ड २०७७ मा उल्लेखित दूरीसम्बनधी मापदण्ड पूरा नभएको देखिएकाले सो सम्बन्धमा जिल्ला अनुगमन समितिले आवश्यक निर्णय लिनुपर्ने उल्लेख गरिएको छ ।
उपसमितिले बुझाएको प्रतिवेदनमा क्रसर तथा बालुवा प्रशोधन उद्योगहरु मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएकाले कारवाही गरिने बताए ।