ब्रेन ट्युमरले थलिएका क्याम्पस प्रमुख शाहीको उपचारमा सहयोगको अपिल

लक्ष्मी तिमिल्सेना ४ असार २०७८, शुक्रबार १९:००
 

नेपालगञ्ज  : बिगत २५ वर्षदेखि शिक्षण पेशामा संलग्न रहदै आएका दैलेख आठबिस नगरपालिका तिलेपाटा क्याम्पस तिलेपाटाका क्याम्पस प्रमुख अग्रबहादुर शाही ब्रेन ट्यूमरबाट थलिएको १ वर्ष नाघ्यो । शिक्षण पेशबाट आर्जेको सबै उपचारमा खर्चेका उनी थप उपचारको लागि आवश्यक आर्थिक अभावको कारण हाल जीवन मरणको दोसाँधमा छन् ।

शाहीले शिक्षण पेशामा आबद्ध भएपछि झण्डै ८ वर्ष बर्दियाको ठाकुरबाबा नगरपालिकाको त्रिभुवन माविमा योगदान गरे । ५ वर्ष बर्दियाकै बारबर्दिया–७, रम्भापुरमा नेपाली विषय शिक्षण गरेका उनी हाल दैलेखको आठबीस नगरपालिका–८ मा रहेको तिलेपाटा क्याम्पसमा क्याम्पस प्रमुखको रुपमा अध्यापन गर्दै आएका थिए । तर, ब्रेनट्युमर भएपछि क्याम्पस प्रमुख शाही थलिएको पनि वर्ष दिन पुगिसकेको छ ।

शिक्षाको ज्योतिमार्फत लाखौंलाई शिक्षा प्रदान गर्दै आएका शिक्षाप्रेमी शाही दैलेखको ठाँटीकाँध गाउँपालिका–५ (साविकको तोलिजैसी गाविस) मा जन्मिएका हुन् । अहिले उनको परिवार बर्दियाको ठाकुरबाबा नगरपालिका–१, डुम्रेनीमा बसोबास गरिरहेको छ ।

ब्रेन ट्युमरले थलिएपछि एक वर्षको अवधिमा उपचारका क्रममा भएको सबै सम्पत्ति सकिएको परिवारले जानकारी दिएका छन् । तर, शाहीलाई अझै निको भएको छैन । अहिले आर्थिक अभावका कारण उपचार गराउन निकै समस्या कठिन भएको छ ।

एक वर्षदेखि उपचार गर्दै आएकोे जानकारी दिदैं शाहीका जेठा दाजु मीनबहादुर शाहीले दैलेखबाट उपचारका लागि, नेपालगञ्ज, काठमाडौं, भारतको लखनउ, दिल्ली लगायत अस्पतालमा लगिसकेको भएपनि उपचार सम्भव हुन नसकेकोमा दुख व्यक्त गरे ।


उनका अनुसार उपचार क्रममा झण्डै २४–२५ लाख रुपैयाँजति खर्च भैसकेको छ । काठमाडौंमा शल्यक्रिया गर्न १० देखि १२ लाख रुपैयाँ लाग्ने भएकोले उपचारका लागि शाहीको परिवारलाई खर्च जुटाउन समस्या परेको छ ।

क्याम्पस प्रमुख शाहीका २ छोरा र श्रीमती छन् । उनकी श्रीमती उमा बिष्ट शाहीले आफ्नो श्रीमानको जीवन रक्षाको लागि उपचारमा सहयोग गरिदिन सम्पूर्णमा अपिल गरेकी छन ।

युवाहरूले चलाए शाही बचाउ अभियान

उनको उपचारका लागि बर्दिया र दैलेखका युवाहरूले आर्थिक सहयोग अभियान चलाएका छन् । सानो सहयोगले आफूलाई शिक्षा दिने गुरुको ज्यान बचाउन सकिने अपेक्षासहित अभियान चलाएको युवाहरूले बताएका छन् । अहिले बर्दिया र दैलेखका युवाहरूले सञ्चालन गरेको क्याम्पस प्रमुख शाही बचाउ अभियानमा विभिन्न ठाउँ क्षेत्र देश बिदेश र जिल्लामा रहेका युवाहरू पनि जोडिएका छन् ।

शिक्षक बचाउ अभियानमा आफूले गर्न सक्ने सहयोग गरि शिक्षकको ज्यान बचाइदिन पनि सम्पूर्णमा आग्रह गरिएको छ । युवाहरूले सामाजिक सञ्जालमा ‘अग्र सर बचाउ अभियान’ नामबाट फेसबुक एकाउन्ट खोलेर सहयोग संकलन गरिरहेका छन् । ‘अग्र सर बचाउ’ अभियानका अभियान्ताका अनुसार अहिलेसम्म १ लाख २० हजार रुपैया संकलन भैसकेको र आर्थिक रकम संक्रलन हुने क्रम जारी रहेको छ ।

आर्थिक सहयोगको लागि राष्ट्रिय बाणिज्य बैक शाखा कार्यालय भुरीगाउँ बर्दियामा रहेको उनकी धर्मपत्नी उमा विष्ट शाहीको नाममा रहेको बैंक खाता नं. ४४७०१००००४७६९०१० मा रकम सहायता गरिदिन आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ढुङ्गा, गिट्टी, बालुवा निकासी नगर्न सरकारका नाममा सर्वोच्चको अन्तरिम आदेश

४ असार २०७८, शुक्रबार १९:००
काठमाण्डौ : सर्वोच्च अदालतले ढुङ्गा, गिट्टी, बालुवा निकासी नगर्न सरकारका नाममा अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासले बजेट वक्तव्यको बुँदा नम्बर १ सय ९९ तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । सर्वोच्चले सरकारलाई लिखित जवाफसहित […]