फत्तेपरको जंगलमा छाडिएको आहारा बाघले खाएन

बाघ समात्न सार्प शुटर र प्राविधिक टोलीको जंगलमै बास

सदरलाइन संवाददाता ३० पुष २०७८, शुक्रबार १७:५१
 

नेपालगञ्ज : बाँकेको राप्तीपारीस्थित फत्तेपुर जंगलमा छाडिएको आहारा पाडोलाई पाटेबाघले अझै खाएको छैन । राप्तीपारी मान्छे खाने बाघलाई नियन्त्रण गर्नका लागि फत्तेपुरस्थित सदावहार सामुदायिक वनभित्र मंगलबार र बुधबार आहारा स्वरुप दुई स्थानमा ‘पाडो’ लगेर जंगलमै बाँधिएको थियो ।

तर, बाघले शुक्रवारसम्म पनि आहारा नखाएको डिभिजन वन कार्यालय बाँकेका प्रमुख दधिलाल कँडेलले जानकारी दिए । बाघ खोज्न राष्ट्रिय प्रकृती संरक्षण कोषका स्वास्थ्य प्राविधिक, डिभिजन वन कार्यालय, बाँके राष्ट्रिय निकुञ्ज, वन तथा वातावरण संरक्षण समन्वय समिति कम्दीका पदाधिकारी, सामुदायिक वनकर्मी, प्रहरी, नेपाली सेना, स्थानीय जनप्रतिनिधी लगायतको संयुक्त टोली फत्तेपुर जंगलमा मंगलबारदेखि नियमित रुपमा परिचालन हुदै आएको छ ।

बाघको आहारा नजिकै स्वचालित क्यामेरा समेत जडान गरिएको छ । तर, उक्त स्थानमा अहिलेसम्म बाघ नदेखिएको डिभिजन वन प्रमुख कँडेलले बताए । बाघलाई नियन्त्रणमा लिने वित्तिकै ‘वाइल्ड लाइफ एम्बुलेन्स’ मा अन्यत्रै लगेर ब्यवस्थापन गर्ने तयारी छ ।

बाघ अहिलेसम्म पनि नियन्त्रणमा नआउँदा राप्तीपारीका स्थानीय बासिन्दा त्रसित भइरहेका छन् । बाघको आक्रमणबाट शनिबार राप्तीसोनारी ६ फत्तेपुरकी २९ वर्षीया चाँदनी थारु र राप्ती सोनारी ४ पर्सोना की ५३ वर्षीया लिला बिष्टको मृत्यु भएको थियो ।


बाघ पछिल्लो करिव एक हप्तादेखि कतै नदेखिएको स्थानीय बासिन्दा बताउँछन् । एक हप्ताअघि सम्म भने बैजापुर, बिनौना र फत्तेपुरको जंगलभित्र मान्छे र पशु चौपायामाथी निरन्तर आक्रमण गरेको थियो ।

बाघ नियन्त्रण गर्नका लागि फत्तेपुरको महेमानपुरस्थित सवडिभिजन वन कार्यालयमा क्याम्प खडा गरिएको छ । बाघको निगरानी गर्न बाँके राष्ट्रिय निकुञ्जले त्यहाँ दुई वटा हात्तीसहित कर्मचारी तथा सुरक्षाकर्मी परिचालन गरेको छ ।

यस्तै डिभिजन वन कार्यालय बाँकेले पनि बाघको निगरानी बढाउन कर्मचारीलाई खटाएको छ । बाघले दिनहुँ आक्रमण गर्न थालेपछि बैजापुरका स्थानीयले केहीदिन अघि भुवर भवानी मन्दिरमा पुगेर पुजाआजा समेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

थारु बस्तीमा माघीको रौनक, मधेशी समुदायमा खिचडी

३० पुष २०७८, शुक्रबार १७:५१
नेपालगञ्ज : शनिवार माघी र माघे संक्रान्ती पर्व धुमधामका साथ मनाईदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने संक्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) संक्रान्ति भनिन्छ । थारु बाहुल्य पश्चिम तराईका जिल्लामा माघीको व्यापक रौनक छ । बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लगायतका जिल्लामा रहेको थारु समुदायले यो पर्व […]