दिवाखाजा कार्यक्रमले बाँकेको नरैनापुरमा विद्यार्थीले कक्षाकोठा भरिभराउ

रुद्र सुवेदी २१ कार्तिक २०७८, आईतवार १७:४५
 

नरैनापुर (बाँके) : कुनैबेला विद्यालयमा अत्यन्तै न्युन विद्यार्थी उपस्थित हुने बाँकेको नरैनापुर गाउपालिकाका विद्यालयका कक्षा कोठा आजभोली भने विद्यार्थीले भरिभराउ छन् । बाँकेको नरैनापुर गाउपालिकामा रहेका बालविकास केन्द्र, सामुदायिक विद्यालय र मदरसामा दिवा खाजाको कार्यक्रम सञ्चालनमा ल्याईएपछि विद्यालयमा उपस्थित हुने विद्यार्थी संख्यामा अप्रत्याशित बृद्धि भएको हो ।

नरैनापुर–६ जमुनीकी हंसकुमारी धोबी आजभोली हरेक दिन विद्यालय जाने गरेकी छन् । विद्यालयमा दिन बिराएर फरक–फरक स्वादको दिवा खाजा खान पाउने भएपछि कक्षा ५ मा अध्ययनरत उनी विद्यालय नियमित आउन र पढ्न मन लाग्न थालेको बताउछिन् ।

नरैनापुर–६ जमुनीमा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालय जमुनीमा अध्ययन गर्नेउनी मात्रै नभएर पछिल्लो समय दिवा खाजा कै कारण धेरै विद्यार्थीहरु विद्यालय आउन थालेका छन् । संगिता यादव पनि आजकल नियमित विदालय आउने गरेकी छन् । उनी मात्र नभएर उनको कक्षाका सबै सहपाठी नियमित विद्यालय आउने गरेका छन् ।

‘पढन पनि पाइने नियमित खाजा पनि फरक–फरक स्वादको पाइने भएपछि नियमित आउन थालेका छौ’–लजाउदै भनिन । विद्यालयमा हरेक दिन फरक–फरक परिकारको पौष्टिकले भरिपूर्ण खाजा पाक्ने गरेको छ । हजुवा, मिठो दलिया, खिचडीलगायतको खानेकुरा विद्यार्थीका लागि पाक्ने गरेको हो ।

संघिय सरकारको सशर्त अनुदानमा सञ्चालनमा रहेको बालविकासदेखि कक्षा ५सम्मका विद्यार्थीलाई लक्षित गरी सुरु गरिएको दिवा खाजा कार्यक्रमले विद्यार्थीलाई विद्यालयसम्म आकर्षण गरेको नरैनापुर गाउपालिकाका शिक्षा शाखा प्रमुख तथा शिक्षा अधिकृत कृष्णकुमार थारु बताउछन ।

उनले भने–‘ नरैनापुरमा विद्यालय ड्रप आउट हुनेक्रम पनि अधिक रहेको र विद्यालय भर्ना अत्यन्तै न्युन हुने अवस्था रहेकोमा दिवा खाजा कार्यक्रम लागू गरेपछि यो अत्यन्तै प्रभावकारी रहेको पाइएको छ ।’ उनले नरैनापुरमा विद्यालय बाहिर रहेका विद्यालय जाने उमेरका करिव २५प्रतिशत विद्यार्थीहरु मध्ये दिवाखाजा सञ्चालन भएपछि २० प्रतिशत जति विद्यालयमा भर्ना भई नियमित विद्यालय आउने गरेको दाबी गरे ।

नरैनापुर–६ जमुनीमा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालय जमुनीका प्रधानाध्यापक अमरलाल यादवले विद्यालयमा संञ्चालनमा ल्याईएको दिवाखाजा कार्यक्रमबाट विद्यालयमा विद्यार्थीको उपस्थितिमा उल्लेख्य रुपमा वृद्धि भएको बताउछन् । उनले विद्यार्थीको चापको कारण कक्षामा कोचाकोच भएर बसाल्नु परको बताए ।

उनले भने–‘ विद्यालयमा विद्यार्थी भर्ना हुने र विद्यालय नआउने परम्परा रहेको थियो तर अहिले दिवाखाजाले विद्यालयका कक्षा कोठा भरिभराउ छन् । प्रय सबै विद्यार्थी नियमित विद्यालय आउने गरेका छन् । नयाँ जो विद्यालय बिच मै छोडेकाहरु पनि पुनः विद्यालय भर्ना भएर आउन थालेका छन् । उनले दिवा खाजा कार्यक्रमको प्रभावका कारण पछिल्लो समयमा विद्यार्थीको नयाँ भर्नाको संख्या पनि उल्लेख्य रुपमा वृद्धि भएको बताए । उनले भने–‘ कार्यक्रम लागू नहुँदा सुरुका दिनमा विद्यालयमा ३ सय ७६ जना विद्यार्थी भएकोमा हाल यो संख्या बढेर ४ सय ४३ जना पुगेको छ ।’

उनले कार्यक्रम लागू हुनु अगाडि विद्यालयमा भर्ना भएका बालबालिका पनि नियमित विद्यालय आउने क्रम अत्यन्त न्युन रहेको र आई हाले पनि विचमै कक्षा छाडेर घर फर्कने गरेकोमा दिवा खाजाको कार्यक्रमले उनीहरुलाई नियमित विद्यालय आउने र कक्षामा पनि अन्तिमसम्म बस्ने गरेको जानकारी दिए ।

नरैनापुर–४ मा रहेको मदरसा अरविया गुल्शने वारिस उन्मतुलुममा पनि अचेल विद्यार्थीको बढ्दै गएको छ । कक्षा ३ सम्म सञ्चालनमा रहेको यस मदरसामा ३ सय ७ बालबालिका अध्ययनरत रहेका छन् । अत्यन्तै न्युन विद्यार्थी रहेको मदरसामा दिवाखाजा कार्यक्रमले चमत्कार नै गरेको मदरसाका प्रधानाध्यापक अब्दुल रहमान खाँले दाबी गरे ।

‘पहिला कक्षा कोठामा थोरै विद्यार्थी हुन्थ्ये तर अहिले दिवा खाजा कार्यक्रमले कक्षा कोठामा ठाउँ नभएर बाहिर बराण्डामा राखेर पढाउनु परेको छ’– उनले भने–‘ यो कार्यक्रम निरन्तर रहेमा विद्यार्थीको चाप अत्याधिक बढ्ने छ । मदरसाको पूर्वाधार पनि बढाउन आवश्यक देखिन्छ ।’ नरैनापुर गाउपालिकामा रहेका सामुदायिक विद्यालय तथा मदरसा गरी ४७ वटा र विद्यालय बाहिर सञ्चालनमा रहेका ३ वटा बालविकास केन्द्रमा  गरी ५० विद्यालय, मदरसामा दिवा खाजा सञ्चालनमा रहेको पालिकाका प्रमुख प्रशाशकिय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोनाबाट नेपालगञ्जकी एक महिलाको मृत्यु

२१ कार्तिक २०७८, आईतवार १७:४५
नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ बाँकेकी ६९ वर्षीया महिलाको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताए । योसंगै कोरोनाबाट हालसम्म बाँकेका ३ सय ४० र बाँकेमा उपचाररत बाहिरी जिल्लाका […]