खजुरामा ५ वर्ष वितिसक्दा पनि दुई किलोमिटर कालोपत्रे भएन

सदरलाइन संवाददाता ३१ आश्विन २०७८, आईतवार १३:०९
 

खजुरा (बाँके) : बाँकेको खजुरा बजारको दुई किलोमिटर सडक विस्तार र कालोपत्रे गर्ने कार्य ५ वर्षमा पनि पुरा हुनसकेको छैन । ३ वर्षमा दुई किलोमिटर सडक विस्तारसँगै कालोपत्रे गर्ने भन्दै २०७४ चैतमा निर्माण कम्पनी गजुरमुखी निर्माण सेवाले सम्झौता गरेकोमा सम्झौता गरेको ५ वर्ष बिते पनि सडक निर्माण अझै अलपत्र छ ।

पटक पटक म्याद थपेर पनि ठेकेदार कम्पनीले सडक कालोपत्रेको काम पूरा नगरेपछि खजुराका स्थानीयवासी आक्रोशित बनेका छन् । उनीहरुले सो सडकको निर्माण छिटो पूरा गर्न दबाव दिन पटक पटक चक्काजाम गर्दै आएका छन् । नेपालगञ्ज गुलरिया सडक अन्तर्गत खजुरा गाँउपालिकाको खजुरा बजारमा दुई किलोमिटर चार लेन सडकको निर्माण बीचमै छोडेर अलपत्र पारेपछि आवागमनमा समस्या भइरहेको छ ।

तीन पटक विभिन्न बहाना बनाएर म्याद थप गरिसकेको ठेकेदार कम्पनी गजुरमुखी निर्माण कम्पनीको २०७७ चैत महिनामा थपिएको म्याद सकिए पनि सडकको काम अलपत्र अवस्थामै रहेको स्थानीय सतिश निरौलाले बताए । उनका अनुसार सो सडक बनाउँदा बनाउँदै अलपत्र पारेपछि सडक किनारका व्यवसायी र आवागमन गर्नेहरु गर्मीमा धुलो र वर्षामा हिलोबाट आक्रान्त बन्दै आएका छन् ।

खजुरा बजारको बीच भागमा एकतर्फी ड्रेन बनाएर वर्षौंदेखि सडक अलपत्र पारिदिँदा बजार क्षेत्र नै दुर्गन्धित बन्न पुगेको छ । साबिक सडक भत्काएर निर्माणको काम आधाआधी गरेर छाडिएका कारण पानी नपर्दा धुलो र पानी पर्दा हिलो हुने गरेको स्थानीयको गुनासो छ ।


निर्माणधीन सडकमा खसालिएको गिट्टी र ढुंगा सवारी साधनले उछिट्याउँदा कतिपय सडक किनारका पैदल यात्रुहरु घाईते समेत बनेको अर्का स्थानीय दिनेश थापाले बताए ।

निर्माण कम्पनीले पुन म्याद थप्नका लागि निवेदन दिए पनि म्याद थप नभएको सडक डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख होमबहादुर एसीले बताए । उनले दशैँलगत्तै कालोपत्रेको काम शुरु गर्ने ठेकेदार कम्पनीबाट जानकारी आएको बताउँदै नाली निर्माणका सम्बन्धमा नयाँ भिओ स्विकृतिका लागि केन्द्रमा पठाइएको बताए ।

स्थानीयवासीले हरेक दिन भोग्नु परेको सास्तीका विषयमा स्थानीय सरकार समेत मौन रहनु रहस्यमय बनेको स्थानीयको भनाइ छ । स्थानीयले चक्का जाम नै गरेर विरोध जनाउँदा समेत स्थानीय सरकारले कुनैपनि चासो नलिएको स्थानीय राजेश आचार्यले बताए ।

खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले गाउँपालिकाले सो बारेमा सहजिकरण गरिरहेको र छिट्टै सडक निर्माण पूरा हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

धनगढीमा श्रीमानको हत्याआरोपमा श्रीमती पक्राउ

३१ आश्विन २०७८, आईतवार १३:०९
कैलाली : कैलालीको धनगढीमा एक जनाको हत्या भएको छ । धनगढी उपमहानगरपालिका–७ का अन्दाजी २५ वर्षीय रमेश चौधरीको हत्या भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।उनको हत्याको आशंकामा प्रहरीले श्रीमती अमृता चौधरी सहित चार जनालाई नियन्त्रणमा लिएको छ । आइतबार बिहानै घरदेखि करिब ७ सय मिटर टाढा खुटिया खोलाको […]

सम्बन्धित