बर्दिया : हात्तीको आक्रमणबाट राजापुर नगरपालिका–१० झम्टीका ४० वर्षीय बेतन दहितको मृत्यु भएको छ । डिभिजन वन कार्यालय बर्दियाका साहायक वन अधिकृत दोण शर्माका अनुसार शनिबार राति क्रसर उद्योगबाट काम गरेर घर फर्किने क्रममा बेतनलाई हात्तीले आक्रमण गरेको हो ।
नेपाल भारतको सीमामा ओहोरदोहोर गरिरहने हात्तीले आक्रमण गरेको साहायक वन अधिकृत शर्माको भनाइ छ । घटनास्थलमा डिभिजन वनको टोली पुगेर अनुसन्धान गरिरहेको उनले बताए ।
यसअघि गत असार २ मा जंगली हात्तीको आक्रमणबाट बर्दियाको बाँसगढीका ७८ वर्षीय वृद्धको मृत्यु भएको थियो । सामुदायिक वनमा च्याउ खोज्न जंगल गएका उनलाई हात्तीले आक्रमण गरेको थियो ।
पछिल्लो समय बर्दियामा पाटे बाघसँगै जंगली हात्तीले आक्रमण गरी स्थानीयको ज्यान लिइरहेको छ । निकुञ्ज प्रशासन र डिभिजन वनले भने जंगली जनावरले आक्रमण गर्ने भएकाले मध्यवर्ती क्षेत्रका स्थानीयलाई जंगलभित्र एक्लै नजान पटकपटक आग्रह गर्दै आएका छन् ।