एजेन्सी : टोकियो ओलम्पिक अन्तर्गत नेपालका पौडी खेलाडी एलेक्सजेन्डर शाहले राष्ट्रिय कीर्तिमान बनाएका छन् । सय मिटर फ्रिस्टायलको पहिलो हिट्समा प्रतिस्पर्धा गरेका उनले निर्धारित दूरी ५३।४१ सेकेन्डमा पौडिदै राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।
यो स्पर्धाको राष्ट्रिय कीर्तिमान यसअघि उनकै नाममा थियो । नेपालमा भएको १३औं सागमा उनले ५४–१३ सेकेन्डको कीर्तिमान बनाएका थिए ।
आफ्नै नामको कीर्तिमान तोडेका उनी पहिलो हिट्समा पहिलो भए । सात जना पौडिएको हिड्समा कोसोभोका खेलाडी दोस्रो भए । प्यालेस्टाइनका खेलाडी तेस्रो, गुएनाका चौथो, भुटानका पाँचौ, माल्दिभ्सका सातौ र सोलोमन आइल्यान्डका खेलाडी सातौं भए ।
समग्रमा ५९औं भएसँगै उनी पहिलो चरणबाटै बाहिरिए । यो स्पर्धामा कुल ७० जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए । यो स्पर्धाका शीर्ष १६ खेलाडी सेमिफाइनल पुगेका छन् । पौडीकी अर्की खेलाडी गौरिका सिंहले महिला १०० सय फ्रिस्टाइलमा भोलि प्रतिस्पर्धा गर्नेछिन् ।
यसैगरी एथलेटिक्स खेलाडी सरस्वती चौधरीले महिला सय मिटर दौडमा ३० जुलाईमा प्रतिस्पर्धा गर्नेछिन् । महिला सय मिटर दौडको पदकको टुंगो ३१ जुलाईमा लाग्नेछ ।
यसअघि नेपालका दुई खेलाडीले टोकियो ओलम्पिकमा प्रतिस्पर्धा गरेका थिए । जुडो खेलाडी सोनिया भट्ट पहिलो चरणमा रसियाका इरिना डोल्गोभासँग पराजित भएकी थिइन् ।