नेपालगञ्ज : भगवान शिवको प्रिय महिना साउनको पहिलो सोमबार नेपालगञ्जको बागेश्वरी मन्दिरमा सोमवार पूजापाठ गर्ने भक्तजनहरूको भिड लागेको छ । कोभिडका कारण मन्दिर बन्द गरिए पनि भक्तजनहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
बिहान मन्दिर परिसरमा भक्तजनहरू शिव पूजनका लागि फूलमाला र अक्षता बोकेर बागेश्वरी मन्दिर पुगेका थिए । मुल मन्दिरभित्र प्रवेश निषेध भएपनि भक्तजनहरूले वरपरका मन्दिर परिक्रमा र मूर्ति पूजा गर्दै शिवलिङ्गमा जल चढाएर महादेवको पूजा गरेका छन् ।
मन्दिर परिसरमा पुगेका मानिसहरुले भने कोभिड महामारीलाई बेवास्ता गरिएको दृश्यमा देख्न सकिन्थ्यो । त्यहाँ उपस्थित भक्तजनहरूले भौतिक दूरी पालन गरेका थिएनन् । कतिपयले त मास्क समेत नलगाएको देख्न सकिन्थ्यो ।
सूर्य मिथुन राशी भएर कर्कट राशीमा प्रवेश गरेको र दक्षिणायन शुरु भएको यो महिनामा भक्तजनहरू महादेवका मन्दिरमा गएर पूजा आराधना गर्दछन् । यसो गरेमा सम्पूर्ण मनोकामना पूरा हुने जनविश्वास रहेको छ ।