अझै ३ दिन पानी पर्ने, मंगलवारदेखि मौसममा सुधार हुने

पछिल्लो २४ घण्टामा नेपालगञ्जमा १ सय ६५ मिलिमिटर वर्षा

सदरलाइन संवाददाता २२ आश्विन २०७९, शनिबार १४:१०
 

नेपालगञ्ज : मनसुन न्यून चापीय क्षेत्रको असरले नेपालमा गएको पाँच दिनदेखि मौसम बदली र पानी परिरहेको छ ।

यही मौसमी प्रणालीका कारण अझै तीन दिन वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् विनु महर्जनका अनुसार मनसुन न्यून चापीय क्षेत्रको असर कायमै रहेकाले केही दिन पानी पर्ने सम्भावना रहेको हो ।

आउँदो मङ्गलवारदेखि मौसम क्रमिकरूपमा सुधार हुनेछ । उनले भने, ‘अबको तीन दिनसम्म वर्षाको सम्भावना रहेको छ । पश्चिमी क्षेत्रमा बढी असर पर्ने देखिन्छ । एक–दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ ।’


नेपालमा मनसुन अझै सक्रिय रहेकाले पनि पानी परिरहे पनि विगतका दिनभन्दा कम असर पर्ने मौसमविद् महर्जनले बताए । अहिले नेपालमा मध्य–पश्चिम बङ्गालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको असर रहेको छ । प्रदेश १ र मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशमा सामान्य बदली रहेको छ ।

प्रदेश १, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै ठाउँमा हल्का पानी परिरहेको महाशाखाले जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ । दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चि प्रदेशमा थोरै र बाँकी प्रदेशका केही ठाउँमा मेघ गर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ । रातिको समयमा पनि त्यही मौसमी प्रणाली कायम रहने जनाइएको छ ।

महाशाखाका अनुसार गएको २४ घण्टामा वीरेन्द्रनगरमा एक सय ६९ र नेपालगञ्जमा एक सय ६५ मिलिमिटर वर्षा मापन गरिएको छ । घोराहीमा एक सय चार, धनगढीमा ९०, दिपायलमा ६३ र डडेल्धुरामा ४४ मिलिमिटर वर्षा भएको छ । काठमाण्डौमा नौ दशमलव पाँच मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियाको जब्दीघाटको पुल बाढीले बगायो

२२ आश्विन २०७९, शनिबार १४:१०
बर्दिया : मंगलवार रातिदेखिको अविरल वर्षापछि आएको बाढीले बबई नदीको जब्दीघाटको पुल बगाएको छ । बारबर्दिया नगरपालिका र गुलरिया नगरपालिका जोड्ने पुल आठ वर्षअघि निर्माण भएको थियो । विसं २०७१ मा बबईमा आएको बाढीले यस पुलको बीच भागको पिलर धस्सिएपछि क्षतिग्रस्त भएको थियो । केही दिनयताको लगातारको वर्षापछि बबई नदीको […]