आठ लाख डोज भेरोसेल खोप नेपाल आयो

सदरलाइन संवाददाता २५ असार २०७८, शुक्रबार १३:२५
 

नेपालगञ्ज : सरकारले चीनसँग खरिद गरेको ४० लाख मात्रा खोप मध्ये पहिलो चरणको खोप शुक्रबार नेपाल आइपुगेको हो । नेपाल वायुसेवा निगमको बाइडबडी ए३३० जहाजबाट कोरोना भाइरस विरुद्धको खोप ‘भेरोसेल’ ल्याइएको हो ।

चीनको सिनोफार्म कम्पनीबाट सरकारले हालै ४० लाख डोज खरिदको सम्झौता गरेको छ । सो सम्झौता अनुसार पहिलो खेपमा आठ लाख डोज खोप शुक्रबार बिहान काठमाण्डौ आइपुगेको हो । यसपछि पनि नेपाल एयरलाइन्सको जहाजमार्फत् निरन्तर खोप ल्याइने सरकारको योजना छ ।

बाइडबडी ए ३३० जहाजबाट बिहीबारदेखि साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप ल्याउन लागिएको हो । सरकारले सरकार–सरकार (जिटुजी)मार्फत चीनबाट खोप ल्याउन सुरु गरेको हो ।

अब असार ३१ गते पुनः बाइडबडी जहाज खोप लिन चीन गएर साउन १ गते तथा साउन ७ गते पुनः जहाज नेपालबाट गएर साउन ८ गते खोप ल्याउने छ । नेपालमा अहिलेसम्म ४२ लाख ४८ हजार खोप आएको छ ।


नेपालमा १८ वर्षभन्दा माथिका कुल दुई करोड २० लाख जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य लिइएको छ । अहिलेसम्म आठ लाख ५१ हजार ३०० जनालाई दोस्रो मात्रा र २६ लाख ११ हजार ८०७ जनालाई पहिलो मात्राको खोप प्रदान गरिएको छ ।

चीनबाट खरिद गरेर ल्याइएको कोरोनाविरुद्धको भेरोसेल खोप ६० देखि ६४ वर्ष उमेर समूहकालाई पहिलो प्राथमिकता दिएर लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसपछि ५५ देखि ६० वर्ष उमेर समूहका लाई लगाउने योजना मन्त्रालयको छ । चिनियाँ भेरोसेल खोप दुईदेखि आठ डिग्री सेन्टिग्रेड तापक्रममा भण्डारण गर्न सकिन्छ ।

नखोली राखिएको यो खोप दुई वर्षसम्म प्रयोग गर्न सकिन्छ । यदि सिल खोलेर खोप लगाउन सुरु गरियो भने छ घण्टाभित्र खोप दिइसक्नुपर्ने जानकारहरु बताउँछन् । भेरोसेल खोप दुई डोज लगाउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डडेल्धुरामा युवक मृत फेला

२५ असार २०७८, शुक्रबार १३:२५
डडेल्धुरा : डडेल्धुरामा एक युवक मृत फेला परेका छन् । जिल्ला सदरमुकाम बागबजार घरनजिकै २३ वर्षीय युवक दीपेन्द्र धामी मृत फेला परेका हुन् । मृत फेला परेका धामीको खल्तीमा ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए । उनले कागजमा बेरेर राखेको ब्राउन […]