बाँकेसहित विश्वभरका मुसलमानले मोहम्मद डे मनाउँदै

सदरलाइन संवाददाता १४ कार्तिक २०७७, शुक्रबार १४:१३
 

नेपालगञ्ज : इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैह वसल्लमको जन्म जयन्ती अवसरमा बाँकेसहित विश्वभरका इस्लाम धर्मावलम्बीले मोहम्मद डे मनाउँदै छन् ।

जिल्लाका विभिन्न स्थानबाट नेपालगञ्जमा जम्मा भएका इस्लाम धर्मावलम्बीले शुक्रवार बिहानैदेखि बाजागाजा र झण्डासहित नेपालगञ्ज नगरको परिक्रमा गरेका छन् ।

इस्लामी पात्रोको तेस्रो महिना रविउल्ल अवलको १२ तारिखको दिन नेपाली मुसलमानसहित विश्वभरिका मुसलमान धर्मावलम्बीले विभिन्न धार्मिक कार्यक्रम गरी मोहम्मद डे मनाउँदै आएको नेपालगञ्ज उपमहानगरपालिका बडा नं. ४ का अध्यक्ष मोहम्मद सफिक बेहनाले बताए ।

उनका अनुसार शुक्रवार नेपालगञ्जसहित नेपालका विभिन्न स्थान तथा विश्वभरका मुसलमान धर्मावलम्बीले इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैह वसल्लामको जन्म जयन्ती मनाउँदै छन् ।


‘हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी सम्वतको रविउल्ल अवल महिनामा साउदी अरबको मक्कामा बुवा अब्दुल्लाह र आमा बिबी आमिनाको कोखबाट भएको हो’ – वडा अध्यक्ष बेहनाले भने – ‘उनको निधन ६३ वर्षको उमेरमा साउदीकै मदिनामा भएको थियो । मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने गरिन्छ ।’

शुक्रवार बिहानैदेखि शुरु भएको र्याली दिनभर चल्ने बाँकेका मुसलमान अगुवा एंव नेकपाका केन्द्रित सदस्य मोहम्मद हारुनले बताए । र्यालीमा बालबालिकादेखि ज्येष्ठ नागरिकसमेतको सहभागिता रहेको छ ।

मुसलमान समुदायको मोहम्मद डे उत्सव र्यालीलाई व्यवस्थापन गर्न शहरमा सुरक्षा व्यवस्था सुदृढ बनाइएको बाँकेका प्रहरी उपरीक्षक ओम बहादुर रानाले बताए ।

Next Post

भेरीको परीक्षणमा तीस जनामा कोरोना पुष्टि

१४ कार्तिक २०७७, शुक्रबार १४:१३
नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जमा गरिएको पिसिआर परीक्षण्मा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणको भेरी अस्पतालले शुक्रवार दिउँसो सार्वजनिक गरेको नतिजाअनुसार बाँकेका १७ सहित बिभिन्न जिल्लाका ३० जनामा संक्रमण पुष्टि भएको हो । १ सय २१ जनाको स्वाव परीक्षण गरिएकोमा ३० जनामा […]