नेपालगञ्ज : बाँकेमा कोरोना भाइरस संक्रमितको संख्या ओरालो लागेसंगै यतिबेला यहाँको जनजिवन सामान्य बन्दै गएको छ । देशमै सबैभन्दा बढि कोरोना भाइरस संक्रमणले ग्रसित बाँके जिल्ला पछिल्ला केही दिनदेखि संक्रमित थपिने र मृत्युदर घटेपछि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन (डीसिसिएमसी) बाँकेले निषेधाज्ञालाई समते केही खुकुलो बनाउदै लगेको छ ।
यसैबीच कोरोना भाइरस संक्रमित संख्या बढेसंगै गत वैशखा पहिलो हप्तादेखि बन्द रहेको नेपालगञ्जस्थित भेरी अस्पतालले बहिरंग सेवा (ओपीडी) सञ्चालन गर्ने तयारी गरेको छ । कोरोना भाइरस महामारी दोस्रो लहरसँगै ओपीडी बन्द गरेको भेरी अस्पतालले असार १ गते मंगलबारदेखि पुनः सञ्चालन गर्ने जनाएको हो ।
भेरीले कोरोना बिरामीका लागि दुई सय बेड सञ्चालन गरेको थियो । महामारीका बेला त्यहाँ ३ सय २६ जनासम्म बिरामी आएका थिए । अहिले ६८ जना कोभिड–१९ का बिरामी छन् । एक सय १७ बेड खाली भएका छन् । बेड खाली हुने अवस्था आएकाले ओपीडी सञ्चालन गर्ने निर्णयमा पुगेको अस्पताल प्रशासनले जनाएको छ ।
यसअघि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले बहिरंग सेवा (ओपीडी) सञ्चालनमा ल्याइसकेकोछ । कोहलपुरले १ सय ३० बेड कोरोना बिरामीका लागि छुट्याएकोमा अहिले एक सय ८ बेड खाली भएको छ । बाँकेका अस्पतालहरुमा अहिले बाँकेका ९१ जना बिरामीको उपचार भइरहेको छ ।