नेपालगञ्ज : बाँके युनेस्को क्लबले प्लान इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा ‘समुदायका लागि खाद्यान्न सहयोग कार्यक्रम’ अन्तर्गत कोरोना संक्रमणको कारणले गर्दा अत्याधिक आर्थिक संकटमा परेर जिविका चलाउन समस्यामा परेका नेपालगञ्ज उपमहानगरपालिका भित्रका ३ सय ६५ विपन्न परिवारलाई खाद्यान्न राहात वितरण गरेको छ ।
नेपालगञ्ज उपमहानगरका मेयर डा. धवल शम्सेर राणाले सो खाद्यान्न राहात वितरण कार्यको शुभारम्भ गर्दै कोभिडको कारणले गर्दा आर्थिक अवस्था कमजोर भएका समुदायका अति विपन्न परिवारलाई ठुलो परिमाणको खाद्यान्न वितरण गरिएकोमा युनेस्को र प्लानप्रति आभार व्यक्त गरे । उनले यो सहयोगले विपन्न परिवारको दैनिक गुजारा चलाउन सजिलो भएको दाबी गरे ।
क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले खाद्यान्न वितरण गरिएका हरेक परिवारलाई १३ हजार ४ सय ९५ रुपियाँ ५० पैसा बराबरको सयकेजी चामल, २५ केजी मसुरोको दाल, ५ लिटर खानेतेल, ६ केजी नुन, चिनि ५ केजी, मटर, चना र सिमिको दाल ५–५ केजी र १५ वटा साबुन वितरण गरिएको जानकारी दिए । यो खाद्यान्न तोकीएको भेण्डरबाट पेटिएमको भौचरबाट भुक्तानी हुने गरी उपलब्ध गराईउने गरिएको छ ।
खाद्यान्न सहयोग पाउनेहरुमा नेपालगञ्ज १७, १८, १९ र २२ का अति विपन्न परिवार बाहेक वडा नम्बर १ स्थित समाज विकास तथा प्रवद्र्धन केन्द्रको अनाथालयमा रहेका ९ जना अनाथ बालिका र वडा नम्बर ४ स्थित नेपालगञ्ज कन्या विद्यालयका ४० जना छात्राहरु रहेको क्लबका अध्यक्ष राजेन्द्र चौधरीले जानकारी दिए ।
खाद्यान्न राहात पाउनेहरुमा २९३ परिवार प्लान स्पोन्सर विपन्न परिवार र ७२ परिवार अन्य विपन्न परिवार रहेका छन् । सो अवसरमा बाँके युनेस्को क्लबका संरक्षक सिद्दिकी, अध्यक्ष चौधरी, कार्यकारी निर्देशक रवि तुलाधर, कोषाध्यक्ष बुधेश जयसवाल, कार्यसमितिका सदस्य फिरदौस जहाँ लगायतले पनि खाद्यान्न वितरण गरेको कार्यक्रम सञ्चालन क्लबका अनुप बर्माले गरेका थिए ।