सरकार र थरुहटबीच ६ बुँदे सहमति

सदरलाइन संवाददाता १८ जेष्ठ २०७८, मंगलवार १६:४६
 

नेपालगञ्ज : नेपाल सरकार र थारुहट/थारुवान संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ ।

सहमति अनुसार टीकापुर घटनाका आरोपि धनीराम चौधरी, रेशमलाल चौधरी र लक्ष्मण चौधरी लगायतमाथि लगाइएको सम्पूर्ण मुद्दा फिर्ता र रिहाइका लागि संविधान र कानूनसम्मत पहल गर्ने उल्लेख छ ।

दुई पक्षबीच थरुहट/थारुवान आन्दोलनका क्रममा शहीद भई राहत प्राप्त गर्न छुटेका परिवारलाई राहत उपलब्ध गराउने, शहीद परिवारको उचित व्यवस्थापन गर्ने, घाइतेहरुको उपचार गर्ने र आन्दोलनका क्रममा विभिन्न स्थानमा भएको धनजनको क्षतिको छानविन र मुल्याङ्कन गरी क्षतिपूर्ति उपलब्ध गराउने प्रक्रिया अघि बढाउने पनि सहमति भएको छ ।

त्यस्तै, संविधान संशोधनको आवश्यकता र औचित्यका आधारमा राजनीतिक दलहरूबीच सहमति कायम गरी विभिन्न समयमा विभिन्न राजनीतिक दल र समुदायका तर्फबाट उठाइएका विषयहरूलाई सम्बोधन गरिने पनि उल्लेख छ ।


संविधानमा उल्लेखित व्यवस्था र अदालतको फैसलाअनुसार राज्यका हरेक तह र तप्कामा थारुहरुको आरक्षणको व्यवस्था तथा सबैखाले थारु समूदायको बारेमा संविधान अनुरुपको ब्याख्या र व्यवस्था कायम गरिने सहमति पनि भएको छ । थारु बाहुल्य क्षेत्रमा थारु शिक्षाको व्यवस्था गर्ने, कमैया, कमलरी संघर्ष समितिले विगतमा सरकारले गरेको सहमति कार्यान्वयन गर्नेलगायतका सहमति पनि भएको छ ।

सहमति पत्रमा सरकारका तर्फबाट कानून न्याय संसदीय मामिला मन्त्री तथा वार्ता टोली प्रमुख लीलानाथ श्रेष्ठ र थारुहट/थारुवान संयुक्त संघर्ष समितिका तर्फबाट वार्ता टोली प्रमुख रुकमिणी चौधरीको हस्ताक्षर छ ।

वार्ता टोलीमा सरकारको तर्फबाट राजन भट्टराई र भगवती चौधरी सदस्य थिए । त्यस्तै संघर्ष समितिका सदस्यमा प्रेमीलाल चौधरी, पद्मनारायण चौधरी, प्रभात चौधरी र चन्द्रप्रसाद चौधरी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालमा फेला परेको कोरोनाको नाम ‘डेल्टा’

१८ जेष्ठ २०७८, मंगलवार १६:४६
नेपालगञ्ज : नेपालमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्टको नाम डेल्टा राखिएको छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसका फरक प्रकारलाई नयाँ नाम दिने गरेको छ । त्यहीक्रममा नेपालमा फैलिएको नयाँ भेरियन्टको नाम डेल्टा भएको हो । वेलायत, दक्षिण अफ्रिका र भारतमा सबैभन्दा पहिला देखा परेका विभिन्न भेरियन्टलाई ग्रीक वर्णमालाका अक्षरहरूको […]

ताजा अपडेट