लैंगिक समानताका लागि ‘गल्स आउट लाउड’ अभियान सञ्चालनमा

सदरलाइन संवाददाता १९ फाल्गुन २०७७, बुधबार १३:५१
 


नेपालगञ्ज  :  लैंगिक समानताका लागि किशोरीलाई सशक्त बनाउने अभियान ‘गल्स आउट लाउड’ सञ्चालनमा ल्याईएको छ । उनीहरुलाई समाजिक सञ्जाल फेशबुकग्रुप मार्फत संगठित गरी सशक्तिकरणको अभियान थालिएको हो ।

बाँके र सिन्धुलीका ५० जना किशोरीहरुलाई जोडेर सिर्जना बज्राचार्यले फेसबुकमा ‘गल्स आउट लाउड’ नामक फेसबुक ग्रुप खोलेर सुरुवात गरेको सो ग्रुप अभियानमा समाचार तयार पार्दासम्म ७ सय ८७ जना जोडिएका छन् । लैंगिक समानताका लागि किशोरीलाई सशक्त बनाउँदै फेसबुकलाई पावरका रुपमा अंगिकार गर्न ‘गल्स आउट लाउड’ अभियान थालिएको अभियन्ता बज्राचार्य बताउछिन ।

‘किशोरीहरुलाई इन्टरनेटमा जोड्दै डिजिटल प्लेटफर्ममा कसरी सुरक्षित गर्न सकिन्छ भन्ने उद्देश्यले यो ग्रुप बनाएका हौं, अहिले विश्वभरका १८ मुलुकमा यो अभियान चलिरहेको छ’–उनले भनिन–‘किशोरीका इस्यु, समाजमा विद्यमान कुप्रथा, प्रजनन स्वास्थ्य लगायतका विषयमा पोष्ट गर्ने, शेर गर्ने, अन्तरक्रिया गर्ने, धारणा राख्ने, समस्या समाधानका उपाय पहिल्याउने, सोसल मिडियामा कसरी सुरक्षित हुने जस्ता कुरामा किशोरीहरुले मन्थन गर्छन् ।’

‘गल्स आउट लाउड’ अभियानलाई अझ सशक्त बनाउन प्लान इन्टरनेशनल नेपालले बाँके र बर्दियाका ४० जना किशोरीलाई अभिमुखीकरण गरेको छ । नेपालगञ्जमा दुई छुट्टाछुट्टै समूह बनाएर चार दिनसम्म सञ्चालन गरेको अभिमुखीकरण कार्यक्रमको समापन समारोहमा प्रमुख अतिथि नेपालगञ्ज उपमहानगरकी उपमेयर उमा थापा मगरले ‘गल्स आउट लाउड’ अभियानलाई प्लान इन्टरनेशलन नेपालले प्रोत्साहन गर्दैे राम्रो सुरुवात गरेको कुरामा जोड दिदै सोसल मिडियाको सही सदुपयोग गर्न सके त्यसले सकारात्मक परिणाम दिने सुझाव दिईन ।

उपमेयर थापा मगरले ‘गल्स आउट लाउड’ किशोरीहरुले जान्नैपर्ने, बुझ्नैपर्ने थलोका रुपमा विकास हुनु अत्यन्त राम्रो थलो हुने कुरामा जोड दिईन । ‘बोल्न नडराउनुहोला, आफूलाई मात्र होइन साथीहरुलाई अप्ठेरो पर्दा पनि बोल्दिनुस्, सशक्तिकरणका लागि सबैले हातेमालो गर्नुपर्दछ,’– उपमेयर थापा मगरले भनिन ।


प्लान इन्टरनेशनल नेपालकी सिनियर टेक्निकल एड्भाइजर रक्षा पौडेलले प्लानले विगत ४० बर्षदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको जानकारी दिँदै इन्टरनेट र मोबाइलमा पहुच बढाएर किशोरीलाई सशक्त बनाउन यो अभियान थालिएको बताईन । पौडेलले प्रविधिमा किशोरीहरुको पहुँच नहुंँदा र उनीहरुलाई सबल नबनाउँदासम्म लैंगिक समानता हुन नसक्ने स्पष्ट पारिन ।

प्लान इन्टरनेशनल नेपालको बालविवाह रोकथाम परियोजना प्रमुख आशा बुढा मगरले सामाजिक सञ्जालमा किशोरीहरुलाई जोड्दै एकअर्कामा अन्तरक्रियात्मक बनाउन यो अभियान सफल बन्दै गएको बताईन । उनले यो ग्रुपमा सक्रियरुपमा सहभागी भई अन्तरक्रियात्मक हुने, विचार आदानप्रदान गर्ने, धारणा बनाउने लगायतका क्रियाकलाप गर्ने किशोरीहरु मध्ये एक जनालाई हरेक महिनामा ‘लाउडेष्ट गर्ल अफ द मन्थ’ घोषणा गर्ने गरिएको जानकारी दिईन । यसमा अहिलसम्म बाँकेकै चार जना किशोरी ‘लाउडेष्ट गर्ल अफ द मन्थ’ घोषित भएर मोबाइल उपहार पाएको बताईन ।

यो अभियान बालविवाह रोकथाम परियोजना अन्तरगतको अभियान हो । अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भ पारेर लैंगिक समानता र महिला सशक्तीकरणका लागि किशोरीहरुलाई संगठित बनाउन अभिमुखीकरण गरिएको हो । किशोरी चन्द्रकला थारुको अध्यक्षतामा भएको समापन कार्यक्रममा बैजनाथकी दिपा दर्लामी र कोहलपुरकी विपना बुढाले तालिममा सिकेका कुराहरु व्यवहारमा उतार्न आफूहरु प्रतिबद्ध रहेको बताएका थिए । फोटो तथा सन्दर्भ सामग्री आशा बुढा मगरको सहयोगबाट

Next Post

ढकेरी उदैनको साधारणसभा सम्पन्न

१९ फाल्गुन २०७७, बुधबार १३:५१
कोहलपुर (बाँके) : बाँकेको राप्तीसोनारी गाउँ पालिका वडा नं. ९ स्थित ढकेरी उदैन खानेपानी तथा सरसफाई उपभोक्ता समितिको दोस्रो सार्वजनिक सुनुवाइ तथा चौथो साधारणसभा बुधबार सम्पन्न भएको छ । सभाको बाँके क्षेत्र नं. १ कि प्रदेश सांसद कृष्णा केसी ‘नमुना’ ले उद्घाटन गरेकी थिइन । कार्यक्रममा बोल्दै सांसद नमुनाले सामाजिक […]