आज माघे संक्रान्ति, विभिन्न कार्यक्रम गरी मनाईंदै

सदरलाइन संवाददाता १ माघ २०७७, बिहीबार ०८:०९
 

नेपालगञ्ज : आज (बिहीवार) माघ १ अर्थात माघे संक्रान्ति । मुलुकभर विभिन्न कार्यक्रम गरी माघे संक्रान्ति मनाईंदै छ । थारु समुदायले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदै छन् । तराईवासीले माघ १ लाई नहान अर्थात नुहाउने पर्वका रुपमा मनाउँछन् ।

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भनिन्छ । आजको दिन पवित्र नदी एवं त्रिवेणीमा स्नान, जप, तप, ध्यान र दान गरी घ्यू, चाकु, तरुल एवं खिचडी खाने गरिन्छ ।

तरुललाई पुस मसान्तका दिन उसिनेर माघ १ गते खाने परम्परा छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ ।

सेल रोटीलगायत परिकार पनि पुस मसान्तमा बनाएर माघमा खाने प्रचलन देशका केही भागमा छ । आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थबाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिन्छ ।


माघ १ गतेबाटै उत्तरायण शुरु हुने भएकाले आजबाट दिनभन्दा रात छोटा हुँदै जान्छ । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ ।

यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी स्थानमा आजका दिन भव्य मेलासमेत लाग्ने गर्छ ।

सूर्य दक्षिणबाट उत्तर लाग्दाको दिनलाई वैदिक दर्शनका विभिन्न शास्त्रमा पवित्र दिन मानिएको छ । उत्तरायण शुरु भएपछि शुभ काम, यज्ञ यागादि गर्न शुभ मानिएको छ । उत्तरायण शुरु हुने दिन गुरु पुरोहितबाट तिलक लगाउने शास्त्रीय मान्यतासमेत छ ।

Next Post

जन्ती बोकेको जीप दुर्घटना हुँदा १४ घाइते

१ माघ २०७७, बिहीबार ०८:०९
गुल्मी : गुल्मीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा १४ जना घाइते भएकमा छन् भने एक जनाको अवस्था गम्भीर छ । कालीगण्डकी गाउँपालिका २ अर्बेनी कोटदेखि बिहेका लागि स्याङजाको जैपते जाँदै गरेको ग१ज ५०८६ नम्बरको जिप सोही वडाको खर्क नजिकैको ओरोलोमा दुर्घटना भएको प्रहरी चौकी पूर्तिघाटका प्रहरी सहायक निरीक्षक हरि किसन […]

सम्बन्धित