नेपालगञ्ज : सल्यानको इलाका प्रहरी कार्यालय श्रीनगरमा कार्यरत प्रहरी जवान पवन केसी मृत फेला परेका छन् । सोमवार राती १० बजेदेखि २ बजेसम्म कार्यालयको मुख्य ढोकामा ड्युटीमा रहेका केसी बिहान मृत फेला परेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय नजिकै भगवती खोला जाने नालामा पोशाक लगाएकै अवस्थामा केसीको शव भेटिएको प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए ।
बिहान स्थानीय एक महिलाले शव देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् । उनको ३० मिटर छाङगोबाट खसेर मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । मृतक प्रहरी जवान केसी पश्चिम रुकुमको मुसिकोट– १३ छिवाङका हुन् । घटनाबारे अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।